भक्तपुर, १५मंसिर । शनिवार सम्पन्न उपनिर्वाचनको प्रदेशसभातर्फ नेपाली कांग्रेसले खाता खोलेको छ । भक्तपुर क्षेत्र न. १(क) को प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको छ।
उहाँले १३ हजार ४ सय ४८ मत पाउनुभएको छ भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डी पी ढकालले ११ हजार २ सय ६ मत ल्याउनुभएको छ।
कांग्रेस उम्मेद्वार भँडेलले नेकपा उम्मेदवार ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पार्दै प्रदेश नं ३ को प्रदेशसभा हेटौडाको यात्रा तय गर्नुभएको छ ।
यसअघि यो प्रदेशसभा क्षेत्रबाट तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ विजयी बन्नुभएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डीपी ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५ मत प्राप्त गर्नुभएको थियो।
प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते शनिवार उपनिर्वाचन भएको हो।
राजधानी काठमाडौं. उपत्यकाभित्रको निर्वाचन भएकोले यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।


















