पोखरा((कास्की),२० माघ । १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा रुस्लान थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो ।
यो जितसँगै पुलिसले क्याराभान गोल्डकपसहित आहा ! रारा गोल्डकपको उपाधि छैटौं पटक जितेको छ । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ ।
अघिल्लो हप्तामात्र मदन भण्डारी मेमोरियल गोल्डकप जितेको थ्रीस्टार भने उपबिजेतामै सिमित भएको छ । उपविजेता थ्रीस्टारले पनि ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।
पुलिसको जितमा सब्स्टीच्यूट खेलाडी राम वाजीले निर्णायक गोल गरे । अभिशेक रिजालको सट्टामा ८३ औं मिनेटमा मैदान छिरेका वाजीले थपिएको कुल २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयमा गोल गरेका थिए ।
यसअघी निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि २० मिनेटको समय थपिएको थियो ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टार दोश्रो हाफ पछि भने केहि रक्षात्मक बनेको थियो ।
पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले जितको श्रेय खेलाडीमा जाने प्रतिक्रिया दिए । उनले खेललाई खेलाडीले न्याय गरेकै कारण उपाधि जित्न सफल भएको बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रवि पासवान बने । उनले हिरो स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र हृयाट्किकर्ता थ्रीस्टारका विश्वास श्रेष्ठ बने ।
उत्कृष्ट स्ट्राइकरमा थ्रीस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल वल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए ।
त्यस्तै, अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगढी पुरस्कृत भए । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।
यसैबीच भाग्यमानी दर्शक उज्वल पोखरेललाई हिरो स्कुटर प्रदान गरिएको छ । प्रतियोगिता अवधीभर टिकट काट्ने दर्शकहरुमा गरिएको लक्की ड्रमा कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक भलाबोट निवासी केसी बिजेता बनेका हुन् । उनलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।
अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको कलर टिभी प्राप्त गरे ।
फाइनल खेलअघि सम्बोधन गरेका राखेप सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई खेलकुदको राजधानी बनाउने घोषणा गरे ।
सदस्य सचितव विष्टले अब देशैभरी हुने गोल्डकपको प्रथम पुरस्कार राखेपले दिने घोषणा गरे ।
प्रथम पुरस्कारको राशी २५ लाख वा त्यो भन्दा माथि जति राखेपनि राखेपले दिने बताएका हुन् ।