काठमाडौं, १० श्रावण । मकालु–वरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बु जिल्लामा पर्ने मेरापिक क्षेत्रलाई समेटेर अलग्गै निकुञ्ज घोषणा गर्न कार्यदलदले सुझाव दिएको छ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ६४८ वर्गकिमि, सोताङ गाउँपालिकाको १०३ वर्गकिमि र माप्य दूधकोसी गाउँपालिकाको ६ र ७ नम्बर वडाको केही क्षेत्रलाई समेटेर ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ घोषणा गर्न सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाएको हो ।
कार्यदलले ४२१.२२ वर्गकिमिको मध्यवर्ती क्षेत्र प्रस्ताव गरेको छ । मध्यवर्ती क्षेत्रमा ६ वटा उपभोक्ता समिति रहने उल्लेख छ ।
वन तथा वातावरणमन्त्री संयोजक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा प्रदेश १ का पर्यटनराज्यमन्त्री सदस्य एवं वन मन्त्रालयका सचिव सदस्य सचिव रहेको सल्लाहकार समितिले प्रतिवेदन अध्ययन गरी निकुञ्ज घोषणाका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछ ।
घोषणापछि यो मुलुकका १३औं निकुञ्ज हुनेछ । यो पूर्वतिर मकालु–बरुण र पश्चिममा सगरमाथा निकुञ्जसँग जोडिनेछ । उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्छ । प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यापर्यटन र संस्कृतिका हिसाबले धनी छ ।
हाल मकालु–बरुण निकुञ्जभित्र पर्ने बुङ र मेरापिक क्षेत्रबारे अध्ययन गर्न वन तथा वातावरण मन्त्रालयले गत मंसिरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव डिलबहादुर पूर्जा पुनको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।
उक्त कार्यदलले स्थलगत अध्ययनका साथै सरोकारवालाहरूसँग छलफल गरेर प्रतिवेदन केहीअघि महानिर्देशक संयोजक रहेको समन्वय समितिसमक्ष प्रस्तुत गरेको छ ।
कार्यदलमा मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र वनस्पति विभागका उपसचिव, प्रदेश १ को वन मन्त्रालयका सहायक वैज्ञानिक अधिकृत, प्रदेश वन निर्देशनालयका अधिकृत सदस्य र विभागका सहायक संरक्षण अधिकृत सदस्य–सचिव रहनुभएको छ ।
मेरा पिक क्षेत्रको सौन्दर्य
सोलुखुम्बुमा पर्ने प्रस्तावित निकुञ्जको क्षेत्रमा ६ हजार ४ सय ७६ मिटर उचाइको मेरापिक हिमाल पर्दछ । पर्वतारोहणका लागि मेरापिक क्षेत्र प्रसिद्ध छ । आर्थिक वर्ष २०७७ । ७८ मा मेरापिक क्षेत्रमा ४४० जना पर्यटक भित्रिएका थिए । सबभन्दा बढी आव २०७५ । ७६ मा २ हजार ७ सय ६७ जना पर्यटकले भ्रमण गरेका थिए ।
मेरापिकसँग धेरै हिमश्रृंखला जोडिएको छ । सँगै पवित्र तालहरु, झरनासमेत छन् । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट निकुञ्जभित्र पर्ने बुङ क्षेत्रभन्दा माथिसम्म सवारी साधन चल्छन् ।
पदयात्राका लागि मेरापिक विश्वमै प्रख्यात भएकाले निकुञ्ज घोषणापछि पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । जेओएम रोबर्टस् र सेन तेन्तिङले सन् १९५३ को मे २० मा पहिलो पटक मेरापिक हिमालको आरोहण गरेका थिए ।
प्रतिवेदनमा निकुञ्जका मुख्य पदयात्राका सात वटा रुट र मुख्य पर्यटकीय गाउँ, गुम्बा र सम्पदाको पहिचान गरिएको छ ।

उक्त क्षेत्र जलस्रोतका लागि धनी छ । इङ्खु, हुँगु, दूधकोसी नदी त्यहीँबाट बग्छन् भने पाँचपोखरी, सेती पोखरीलगायत हिमतालहरुसमेत छन् ।वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेका अनुसार प्रदेश १ का सांसद र संघीय सांसदहरूले पनि सोलुखुम्बु क्षेत्रमा अलग निकुञ्ज बनाउन पहल गरेका थिए ।
प्रस्तावित क्षेत्रमा ६८ प्रजातिका स्तनधारी, २ सय प्रजातिका चरा, ११ प्रजातीका माछा र २८ प्रजातिका पुतली पाइन्छन् । त्यस्तै, हिउँचितुवा, रेडपाण्डा, हिमाली कालो भालु, चितुवा, चाइनिज प्याङ्गोलिन र ध्वाँसे चितुवालगायत वन्यजन्तु पाइन्छन् ।
उच्च पहाडी जंगलमा देवदार, भोजपत्र र लालीगुराँस तथा २ देखि ४ हजार मिटर उचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र चाँपको जंगल छ ।
सुव्यवस्थित बनाउने पहल
२०४९ मा मकालु–बरुण निकुञ्ज स्थापना गर्दा सोलुखुम्बुको यसलाई समेत समेटिएको थियो । तर, सोलुखुम्बुतिर पर्ने निकुञ्जको मेरापिक र बुङ क्षेत्र निकुञ्जको मुख्यालयभन्दा टाढा र अपायक भएपछि अलग्गै निकुञ्जको अवधारणा अघि बढेको हो ।
तर, सोलुखुम्बुको बुङ क्षेत्रबाट मकालु–बरुण निकुञ्जको मुख्यालय संखुवासभाको हेदाङ्नागढी जान गाडीमै पनि ४ दिन भन्दा बढी लाग्छ ।

बुङ क्षेत्रका सेवाग्राहीले अहिले सल्लेरी–ओखलढुंगा–हिलेपानी–खोटाङ हलेसी–भोजपुर–संखुवासभा–खाँदबारी हुँदै मुख्यालय हेदाङ्नागढी जानुपर्ने बाध्यता छ ।
मकालु–बरुण निकुञ्जको मुख्यालय रहेको हेदाङ्नागढी संखुवासभा सदरमुकाम खाँदबारीदेखि करिब ७ घण्टा दूरीमा छ ।
‘प्रदेश सरकार, स्थानीय जनता, जनप्रतिनिधि र अन्य सरोकारवाला उक्त क्षेत्रमा अलग्गै निकुञ्ज चाहन्छन्,’ विभागका सूचना अधिकारीसमेत रहनुभएका कार्यदलका संयोजक पुनले भन्नुभयो, ‘स्थानीय जनताले पहिले देखि नै अलग्गै निकुञ्जका लागि पहलकदमी गर्दै आएका थिए ।’
प्रदेश १ सरकारले पनि अलग्गै निकुञ्ज महसुस गर्दै त्यसमा सघाउन संघीय सरकारको ध्यानकर्षण गराएको थियो । कार्यदलले तयार गरेको प्रतिवेदनमा नयाँ निकुञ्ज घोषणापछि ७० जना कर्मचारी दरबन्दी आवश्यक पर्ने प्रस्ताव गरिएको छ ।
नयाँ निकुञ्जको मुख्यालय बुङक्षेत्रमा प्रस्ताव गरिएको छ । निकुञ्जको एउटा मुख्यालय, एउटा सेक्टर कार्यालय र चार वटा पोस्ट रहने प्रस्ताव गरिएको छ । भवनलगायत भौतिक संरचना निर्माणका लागि पहिलो चरणमा २ करोड ६१ लाख रुपैयाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।


















