काठमाडौ, ९ कार्तिक। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेर अपराधीलाई बचाउने र निरपराधीलाई फसाउने कार्यमा सलग्न रहेका प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश प्रसाद भट्टलाई गृह मन्त्रालयले बिहीबार वर्खास्त गरेको छ।


प्रहरी प्रधान कार्यालयले दुवै प्रहरी अधिकृतलाई सेवाबाट हटाउनेतर्फ आवश्यक कार्वाहीको लागि सिफारिस गरेको र मन्त्रालयमार्फत दुई पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले मन्त्रालयले बिष्ट र भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
दुवै जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि दुबैजनालाई बिहिवारबाटै लागू हुनेगरि पदबाट बर्खास्त गरिएको हो।
मन्त्रालयले दुवै प्रहरी अधिकृतलाई अनुसन्धानमा चरम लापरवाही गरेको, पीडितका आफन्त र सरोकारवालाहरुको गुनासो सम्बोधन गर्न नसकेको, गैरन्यायिक र गैर जिम्मेवारपूर्ण काम गरेको, बलात्कार र हत्या जस्तो जघन्य अपराधमा प्रमाण जोगाउन ध्यान नदिएको बरु प्रमाण लाग्ने बस्तुहरु मृतकका भित्री वस्त्रहरु पानीमा चोपलिएको, गुप्तांग र तिघ्रा पखालिएको, मृतकका वस्त्रहरु नै गायब बनाएको, घट्ना हुँदाका बखत नेपालमा नरहेका मृतकका बाबुको सही गराएको , घटनाको अनुसन्धान नसकिदै मृतकको दाहसंस्कार गराउन दबाब दिएको, स्थानीय जनताको आक्रोशलाई शान्त पार्न नसकेको र अनावश्यक बल प्रयोग गर्दा अर्का निर्दोष व्यक्तिको जीवन गुमाउन परेको जस्ता संगीन आरोपहरु लगाएको छ ।


















