काठमाडौं,१२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवेले नेतृत्व गरेको राजनीतिक समूहलाई राजनीतिको मूलधारमा आउन दिएको दुई हप्ताको अल्टिमेटमलाई नकार्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवद्धारा पक्राउ परेका आफ्ना नेता र कार्यकतालाई नछोडेमा सरकार विरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनीयुक्त प्रेस वक्तव्य सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीले हिँउदे अधिवेशनको समाप्तिपछि यसको समीक्षा गर्न बसेको संसदीय दलको बैठकमा चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सो राजनीतिक समूहका सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने दावी गर्नुभएको थियो।
प्रधानमन्त्री ओलीले विप्लव समूहले नेताहरुलाई मार्न मान्छे खटाएको उल्लेख गर्दै राजनीतिक हत्या गर्ने अपराधिक समूहलाई छुट दिन नसकिने बताउनुभएको थियो । विप्लव समूहले हरिया हथौडाकै झण्डा, कम्युनिष्ट पार्टीकै नाम राखेर विकास निर्माणका काम हुन नदिएको, समाजवाद उन्मुख प्रयासहरुमा अवराध गरेको तथा कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने खोजेको आरोप पनि प्रधानमन्त्री ओलीले लगाउनुभएको थियो । प्रधानमन्त्री ओलीले सहज ढंगले नआए बलपूर्वक नियन्त्रण गरिने संकेत गर्दै भन्नुभएको थियो,सहज ढंगले आउनु हुन्न भने जेलमा बसेर राजनीतिको मूलधारमा आउनुहुन्छ ।’
विप्लवद्धारा बन्दसहितको आन्दोलन घोषणा

प्रधानमन्त्री ओलीले संसदीय दलमा विप्लब समूहलाई चैत्रभित्र शान्तिपूर्ण रुपमा राजनीतिको मूलधारमा नआए बल प्रयोग गर्ने अभिब्यक्ति दिएको १२ घण्टा नबित्दै बिप्लवको नामबाट आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध चैत्रभित्र नहटाएरमा सरकारका गतिविधिमाथि प्रतिबन्ध लगाउने आशयको बक्तव्य सार्वजनिक भएको छ।
हेमन्तप्रकाश वली सुदर्शनसहित पक्राउ परेका आफ्ना नेता र कार्यकर्ताको रिहाईको माग सहित आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गरिएको सो बक्तव्यमा चैत्र १३ गतेदेखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ । घोषित कार्यक्रममा १३ गते चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द,१९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ ।
विप्लव समूहले एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको बताएको छ ।
‘नेकपाका महासचिव विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी गर्ने चेतावनी दिइएको छ ।


















