Prakash Adhikari November 2, 2020

 

सानेपा(ललितपुर), १७ कार्तिक । नेपाली कांग्रेसको २१ गते निर्धारित केन्द्रीय समितिको बैठकको पूर्व तयारी स्वरुप आज दिउँसो शीर्ष नेतासहित पदाधिकारीहरुको बैठक बोलाइएको छ ।

केन्द्रीय समितिको मूल एजेण्डा पार्टीको १४ औँ महाधिवेशनको मिति सार्ने र कार्यतालिका संशोधन गर्ने रहेता पनि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममले नेपाली कांग्रेसको अगुवाईमा वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ता व ल्याउने विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

केही समय पहिले भएको पदाधिकारीहरुको बैठकमा नेपाली कांग्रेस संसदको विशेष अधिवेशन बोलाउन सरकारसंग आग्रह गर्ने निम्सरो प्रस्ताव पारित गरेको थियो । अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पुनः विभाजनको संघारमा पुगेको र पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो कार्यशैलीसंग विमति राख्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टी छोडेर जान चुनौती दिनुभएकोले यसबेलामा ओली सरकार अल्पमतमा पर्नसक्ने बताइन्छ ।

नेपाली कांग्रेसले जनता समाजवादीदलसंग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेमा यसले सत्तारुढ नेकपाका दुवै खेमालाई पार्टी फोड्ने सहज बातावरण निर्माण गर्ने देखिन्छ । यस्तो प्रस्ताव आएमा प्रधानमन्त्रीको कार्यशैलीसंग विमति राख्ने नेता र उहाँका समर्थक सांसदहरु संसदमा अनुपस्थित रहेर प्रधानमन्त्रीलाई अल्पमतमा पार्ने ताकमा हुनुहुन्छ भने प्रधानमन्त्री ओलीको पक्षधरहरु अविश्वासको प्रस्ताव आएमा सरकारको समर्थनमा मतदान गर्न ह्वीप जारी गर्ने र सोको उल्लंघन गर्नेलाई कारवाही गर्ने पक्षमा हुनुहुन्छ । यसले २०५४ फागुन २१ गते  नेकपा एमाले विभाजन भएको जस्तै अवस्था सिर्जना गर्न सक्ने बताइन्छ ।

सैद्धान्तिक, राजनीतिक,रणनीतिक र सांगठानिक रुपमा निकै कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसका पदाधिकारी तथा शीर्ष नेताहरु तिनका सहयोगीहरुले सही राजनीतिक विश्लेषण गरी उपयुक्त कदम चाल्न सकेमा अविश्वासको प्रस्तावमार्फत नेकपा फुट्ने मात्र होइन, संसदमा सानो संख्यामा रहे पनि पुन सरकारमा जान वा सरकारको नेतृत्व गर्ने अवसर समेत नेपाली कांग्रेसलाई प्राप्त हुन सक्ने देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी विभाजित नभएसम्म नेपाली कांग्रेस सत्तामा जान नसक्ने भएकोले यो अवसरको सदुपयोग गर्न नेताहरुलाई आन्तरिक र बाह्य दबाब पनि उत्तिकै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा २७ जना केन्द्रीय सदस्यहरुले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रमाथि समेत छलफल हुने बताइएको छ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बस्दै छ।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ। महाधिवेशन प्रतिनिधि चयनका लागि वितरण गर्ने क्रियाशील सदस्यहरुको विवाद पनि अझै निरुपण भैसकेको छैन् ।

Share Now

Leave a comment.