काठमाडौं, १८ कार्तिक । अर्को निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्ने महत्वाकांक्षाका साथ यही मंसिरमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहितका उपाध्यक्ष पदमा निर्वाचित बन्नका लागि उद्योगपति किशोर प्रधानको समूहले अर्को निर्वाचनबाट नेतृत्व लिने उद्देश्यले उपाध्यक्षका सबै पदहरुमा उम्मेद्वारी दिएको छ ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दर्ताको घोषणा गर्नुभएको छ।
उद्योग वाणिज्य महासंघको यसपछिको नेतृत्व हाँक्ने आकांक्षासहित वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समूहले यसभन्दा पहिला नै उम्मेदवारी दर्ता गरिसकेको छ ।
ढकालको समूहबाट ढकाल समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन विश्वब्यापी फैलिएको कोरोना संक्रमणको महामारीका कारण नेपालमा चैत्र ११ देखि लगाइएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।
वर्तमान उपाध्यक्ष ढकाललाई गत वर्ष नै बागलुङ उद्योग वाणिज्य संघले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार प्रस्ताव गरेको थियो ।
गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
महासंघको चुनावका लागि उम्मेदवारहरुले मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्नेछन् ।
मनोनयन दाखिला इमलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
दाखिला भएको मनोनयन पत्रको आधारमा उम्मेद्वाहरूको पहिलो नामावली मङ्सिर ४ गते साँझ ६ बजे प्रकाशित गरिने तालिका तयार भएको छ । उम्मेद्वारहरूका विरुद्धमा परेका दावी विरोधको छिनोफानो पछि अन्तिम नामावली मङ्सिर ८ गते प्रकाशन हुने छ ।
उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस संक्रमणको जोखिमका कारण आगामी निर्वाचनका कार्यक्रमहरु मङ्सिर ११ र १२ गते महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम गर्ने जनाएको छ ।
दुई दिन हुने साधारण सभामा ११ गते महासंघको ५४ औं साधारणसभाको समुद्घाटन हुनेछ भने १२ गते निर्वाचन हुनेछ ।
सोमबार ललितपुरको भिभान्त होटलमा आयोजना गरिएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहको उम्मेदवारी दर्ताको घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष कुशकुमार जोशीको मात्र उपस्थिति रहेकोले अन्य पूर्व अध्यक्षहरुको साथ चन्द्रप्रसाद ढकाल समूहको पक्षमा जाने देखिएको छ ।
सो कार्यक्रममा वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावि अध्यक्ष शेखर गोल्छाले आफूले चाहेको प्रधानसमूहको उम्मेद्वारलाई जिताएमा आफूसंग जोश र होस दुवै मिल्ने बताएकोले उद्योगी तथा व्यापारी मतदाताहरुले आफ्नो अनादार भएको महसुस गरेका छन् । उनीहरुको भनाई छ, अध्यक्षले रुचाएका मान्छे नै अनुमोदन गर्ने हो भने निर्वाचनको औचित्य रहदैन, त्यो मनोनित गरे जस्तै भयो । लोकतन्त्रमा हुकमीतन्त्र चल्न सक्दैन । उहाँको निर्वाचित कार्यसमितिले आफ्नो ढंगले काम गर्ने पूर्व उद्घोषले पूर्व अध्यक्षहरुको भूमिकालाई उपेक्षा गरेको छ । त्यसैले अन्य पूर्वअध्यक्षहरुको प्रभावमा रहेका मतहरु भड्किने खतरा बढेको छ ।
भावि नेतृत्व लिने व्यक्तिले तटस्थ भएर स्वच्छ र निश्पक्ष निर्वाचनबाट उद्योगी व्यापारीले विश्वास गर्नुभएका जो सुकै प्रतिनिधि निर्वाचित भएपनि नेताको हैसियतले कसैप्रति पूर्वाग्रह नराखी उद्योगी व्यापारिक समुदाय र देशको बृहत्तर हितमा महासंघलाई अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्ने अपेक्षा गरिएको थियो ।



















