
काठमाडौं, १८ कार्तिक । साझा पार्टी नेपालले बुधबार टुँडिखेलको खुलामञ्चमा असहायहरुलाई नि:शुल्क खाना ख्वाउने कार्यक्रम राखेको छ ।
लकडाउन,निषेधाज्ञा र कोरोना भाइरसको संक्रमणको कारण रोजगारी गुमाएका,खान नपाएर अलपत्र परेका असहायहरुलाई केही परोपकारी संस्थाहरुले निशुल्क खाना खुवाउदै आएको कार्यलाई काठमाडौ महानगरपालिकाले रोकेको कार्यको विरोध स्वप र परोपकारी संस्था तथा व्यक्तिहरुको समर्थनमा सो कार्यक्रम गर्न लागेको साझा पार्टीले जनाएको छ ।
सो पार्टीका प्रवक्ता शरदराज पाठकद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’
साझा पार्टीले भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च आफ्ना सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने जनाउदै शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले भन्ने प्रश्न पनि गरेको छ ।
साझा पार्टीले आफ्नो कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र भएको जनाउदै नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपील पनि गरेको छ।
सो पार्टीले भनेको छ, ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘कामको व्यवस्था गरोस् कि ‘मामको व्यवस्था गरोस्।’
सो पार्टीले संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउने कार्यलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको भर्त्सना पनि गरेको छ।