
काठमाडौं, १८ कार्तिक । माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ ।
यसले जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।
यस कम्पनीले नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.स स्थित तादी खोला (थप्रेक) जलविद्युतआयोजनाबाट ५ मेगावाट जलविद्युत उत्पादन गरिसकेकोे छ भने र म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.स स्थित मिस्ट्री खोला जलविद्युत आयोजनाबाट ४२ मेगावाट जलविद्युत उत्पादन गर्ने कार्य अन्तिम चरण पुर्याएको छ ।
कम्पनीले तादी खोला (थप्रेक) जलविद्युत आयोजना र मिस्ट्री खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्दा आयोजनाको कूल लागत रु. ६,५६,७२,१३,०००/–हुने र प्रति मेगावाट औसत लागत रु.१३,९७,२८,०००।–हुने अनुमान गरेको छ भने साधारण लगानी फिर्ता हुने अवधि(पे ब्याक पिरियड) ५.९० र छुट रकम फिर्ता हुने अवधि (डिसकाउण्टेड पे ब्याक अवधि) ७.८४ वर्ष रहने अनुमान गरेको छ ।