
सानेपा(ललितपुर), १८ कार्तिक । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएपछि उहाँप्रति शोकप्रस्ताव पारित गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
केन्द्रीय सदस्य केसीको सोमबार बेलुवा १० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आजको बैठक शोक प्रस्ताव पारित गरेसँगै स्थगित हुने बताउनुभएको छ ।
आमन्त्रित केन्द्रीय सदस्य के.सी.को आकस्मिक निधनले कांग्रेस पदाधिकारीको हिजोदेखि सुरुभएको बैठक स्थगित हुने भएको छ।
नेपाली कांग्रेसको यही कार्तिक २१ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठक सुचारु गर्ने वातावरण निर्माणको लागि हिजो पदाधिकारी बैठक बोलाइएको थियो । बैठकमा पार्टीभित्रका विवादित विषयको टुंगो नलागेकोले आज पनि जारी हुने बताइएको थियो ।
यही कार्तिक २१ गते हुने केन्द्रीय समितिको बैठक पार्टीको चौधौं महाधिवेशनको मिति र कार्यतालिकाका बिषयमा केन्द्रित हुने भएकोले सो सम्बन्धमा नै हिजोको बैठक केन्द्रित रहेको थियो । आगामी महाधिवेशनको तयारी, क्रियाशील सदस्यताको वितरण र पार्टी सञ्चालनका सम्बन्धमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित थुप्रै केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवासंग विमति राख्दै आउनुभएको छ ।
यसै विषयलाई केन्द्रमा राखेर गत असोज १२ गते केन्द्रीय समितिका २७ जनाले पार्टी कार्यालयमा १६ बुँदे ज्ञापन पत्र सभापतिका नाममा दर्ता गर्नुभएको थियो । हिजोको पदाधिकारी बैठक त्यसैमा केन्द्रित रहेको थियो ।
पार्टीका पदाधिकारी र प्रभावशाली नेताहरु सम्मिलित हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र महेश आचार्यले बोल्नुभएको थियो ।