
काठमाडौं, १८ कार्तिक । नेपालमा कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरुको संख्या एक हजार कटेको छ ।
गएको २४ घण्टामा थप २० जनाको मृत्यु भएपछि नेपालमा कोभिड१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार नाघेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार मङ्गलवारसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार ४ रहेको छ।
मङ्गलवार थप ३ हजार १ सय १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप ३ हजार १ सय ४२ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म सङ्क्रमित १ लाख ७९ हजार ६ सय १४ मध्ये ३७ हजार ४ सय ७६ जनामा सक्रिय सङ्क्रमण छ। कुल १ लाख ४१ हजार १ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन्।
गएको २४ घण्टामा ११ हजार १ सय ६६ पीसीआर परीक्षण गरिएको थियो।
मृत्यु हुनेहरूमा ३ सय ८० जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।
मृतकहरूमा बागमती प्रदेशका ५ सय ३ जना, प्रदेश नं २ का १ सय ५९ जना, लुम्बिनी प्रदेशका १ सय ३८ जना र प्रदेश नं १ का १ सय १९ जना रहेका छन्।
त्यस्तै गण्डकी प्रदेशमा ५५ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
सोमवार २ हजार ९ सय ३३ सङ्क्रमित र २४ जनाको मृत्यु पुष्टि भएको थियो।
उपत्यकामा अत्यधिक
मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये उपत्यकाका ६ सय ४९ महिलासहित १हजार ४ सय ६८ जना रहेका छन्।
अहिले उपत्यकामा १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।
मङ्गलवार एक सयभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरू मोरङमा१ सय ४९ जना, सुनसरीमा १ सय ७ जना, काभ्रेमा १ सय ४९ जना , चितवनमा १ सय ९५ जना र रूपन्देहीमा १ सय १ रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये ३ सय ७२ जना सघन उपचार कक्षमा र ६८ जना भेन्टिलेटरमा उपचाररत छन्।
कुल ३० हजार ६ सय ९४ जना सक्रिय सङ्क्रमितहरू घरमै एकान्तवासमा छन्।