Prakash Adhikari November 7, 2020

 

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री ओलीलाई भेटनका लागि बालुवाटारतर्फ लागेको पार्टी अध्यक्ष प्रचण्डसहितको टोलीलाई एक घण्टा पछिको समय दिएपछि सो टिम पार्टी कार्यालय धुम्बाराहीमा परामर्शमा जुटेको छ।

शुक्रबार सम्पन्न बहुमत सदस्यहरुको बैठकले शनिबार बिहानै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर पार्टीभित्रको विवाद समाधानको लागि आग्रह गर्ने निर्णय गरेको थियो ।

सोहीबमोजिम आज बिहान ९ बजे समयमा भेटघाट गर्ने वचन दिनुभएका प्रधानमन्त्री ओलीले १ घण्टा पछि मात्र भेट्ने भनेपछि बहुमत सचिवालय सदस्य पार्टी कार्यालय धुम्बाराही पुग्नुभएको हो ।

पार्टीका कार्यकारी अध्यक्ष रहनुभएका प्रचण्डको नेतृत्वमा आउने बहुमत सचिवालय सदस्यहरुसंग कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापासँग गरिरहनुभएको छ।
शुक्रबार पार्टी कार्यालय धुम्बराहीमा बसेको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष प्रचण्डले औपचारिक बैठक बोलाएमा त्यहि नै पार्टी फूटको बिन्दू हुने र त्यसको अपजस बैठक बोलाउनेले लिनुपर्ने भनेपछि अनौपचारिक बैठक राखिएको जानकारी गराउनुभएको थियो ।

बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउन कसैले सोचेको भए त्यो अपराध हुने बताए।

उहाँले पार्टी एकताको जग त्यति कमजोर नभएको र कसैलेचाहदैमा त्यो नभत्कने बताउदै भन्नुभएको थियो, कसैले त्यो सोचेको छ भने त्यो अपराध हो ।’
अनौपचारिक बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबाट सर्वसम्मत् गरिएका निर्णय कार्यान्वयनमा समेत समस्या आएपछि आफूहरुले अध्यक्ष ओलीलाई यसअघि पनि पटक पटक मौखिक तथा लिखितरुपमा समेत बैठक राख्न आह्वान गरेको समेत बताउनुभएको थियो।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के.पी. शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टी अलग अलग गरेर आफ्नो इच्छा अनुसारको पार्टी र हैसियत पुर्याएर सरकार निर्माण गरी चलाउन चुनौती दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षसंग भएको तिक्तापूर्ण र रोषपूर्ण बैठकको विवरण कार्यकारी अध्यक्ष प्रचण्डले आइतबार आफ्नो निवास खुमलटारमा सचिवालय सदस्यहरुलाई बोलाएर ब्रिफिड. गर्नुभएको थियो ।

सोही दिन अपरान्ह प्रधानमन्त्रीलाई भेटन जानुभएका पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्रीले माओवादीहरुसंग एकै ठाँउमा बस्न नसकिने भएकोले पुरानो एमाले ब्युताउने कुरा गरेपछि पौडेलले पार्टी एकता जोगाउन सम्पूर्ण नेता र कार्यकर्तालाई अपील गर्नुभएको थियो ।

त्यसपछि पनि प्रधानमन्त्री पार्टीभित्र संझौताको लागि तयार नभएका संकेतहरु देखिएका छन् । उहाँले प्रदेशस्तरका आफूनिकट नेता र कार्यकर्ताहरुलाई परिस्थितिको जानकारी गराउनै पार्टीमा पूर्व एमालेको बहुदलीय जनवादको बहस वडातहसम्म पुर्याउन आवश्यक भएको र त्यसको लागि मदन भण्डारी फाउण्डेशनका गतिविधि व्यापक रुपमा बढाउनु पर्ने विचार व्यक्त गर्दै आउनुभएको छ ।

Share Now

Leave a comment.