
डेलावर(संयुक्त राज्य अमेरिका), २४ कार्तिक(बीबीसी) । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उहाँको टोलीले जनाएको छ।
वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई यसपटकको निर्वाचनमा पराजित गर्दै उहाँ अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपित गत मंगलबार भएको निर्वाचनको सबै मत गणना भैसकेको छैन ।
राष्ट्रपति बाइडनको आगामी ४ बर्षे कार्यकालको योजना बनाउन अग्रसर टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ।
बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
ट्रम्पद्धारा अझै हार अस्वीकार
राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसक्नुभएको छैन र बाइडनको जित प्रक्षेपणमै सीमित छ।
केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना जारी छ।
तर अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उहाँ विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी बाइडन ज्यानुअरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुट्नुभएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्नेछ।
त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।
ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ।
ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन्।
‘निको हुने समय’
राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उहाँले यो ‘निको हुने समय’ भएको बताउनुभएको थियो।
डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
शनिवारको सम्बोधनका क्रममा बाइडनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो।
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७ करो ४० लाखभन्दा बढी मत प्राप्त गरिसक्नुभएको छ।
‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु’, उहाँले शनिबारको संबोधनमा भन्नुभएको थियो।
‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।’
अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्।
बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गर्नुभएको हो।