Prakash Adhikari November 18, 2020

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक रोक्ने प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रयास असफल भएको छ । बुधबार बिहान पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आजको बैठकमा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री पनि उपस्थित हुनुहुने जानकारी गराउनुभएपछि आज बुधबार १ बजेको लागि निर्धारित बैठक समयमा नै बस्ने सुनिश्चित भएको हो ।

प्रधानमन्त्री ओली पार्टी सचिवालय बैठकमा सहभागी हुने भएपछि यता सोहि समयमा बोलाइएको मन्त्रीपरिषद्को बैठक एक घण्टा पछि सारिएको छ ।

आफ्नो नेतृत्वको सरकार र आफ्ना अभिव्यक्ति तथा कामकारबाहीबाट ७ दशक लामो नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट स्थापित संघीयता र गणतन्त्रसहितको संसदीय राजनीतिक व्यवस्था, नेपाली जनताले पहिलो पटक आफ्ना प्रतिनिधि र आफ्नो समेत प्रत्यक्ष सहभागितामा संविधानसभाबाट बनाएको संविधान जोखिममा पारिएको, जनताका जनजीविका छोडेर सरकार केही मुठ््ठीभर व्यापारी र दलालहरुको पक्षपोषणमा लागेको, देशमा भ्रष्टाचार र अनियमिततालाई बढवा दिइएको जस्ता दर्जनौ संगीन आरोपसहितको पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा पेश गर्नुभएको १९ पाने प्रतिवेदनमा छलफल भएर पारित हुने स्थिति देखिएमा आफू र आफ्नो नेतृत्वको सरकारको बचाउको निमित्त संभावित कदम चाल्न उहाँले मन्त्रिपरिषद्को बैठक राख्नुभएको बताइन्छ ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई पार्टी र सरकारका दुवै जिम्मेवारीबाट अलग भएर योगदान गर्न माग गर्नुभएको छ ।

यो प्रस्तावमाथि छलफल नै हुन नदिने वातावरण सिर्जना गर्न प्रधानमन्त्री ओलीले यो प्रस्ताव फिर्ता लिएर छलफलमा बसी विवाद समाधानको उपाय खोज्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई महासचिव विष्णु पौडेलमार्फत पठाउनुभएको प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा पर्नुभएको थियो ।

पार्टी र सरकारका दुवै पद धरापमा पर्ने देखिएपछि प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पार्टीका उपाध्यक्ष बामदेव गौतमसंग अलगअलग छलफल गरी सहयोगको याचना गर्नुभएको थियो । तर दुवै जनाले पार्टीको विधि र पद्धतिलाई मिचेर आपसी संझौता गर्दा सधै धोका भएको भन्दै पार्टी सचिवालयको बैठकको सामना गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।

कतैबाट सहयोगको बचन नपाउनुभएका प्रधानमन्त्री ओलीले भावि रणनीतिबारे मंगलबार दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसंग छलफल गर्नुभयो र अन्तिम अस्त्र राष्ट्रपतिलाई लगाएर प्रचण्डलाई बैठक स्थगन गर्न सहमत गराउने उपाय निकालियो । सोही उपाय अनुरुप हिजो साँझ राष्ट्रपतिले आफ्नो निवासमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसंग भेटवार्ता गर्नुभएको थियो । तर सो बार्तामा समेत कार्यकारी अध्यक्ष प्रचण्डले अव लेनदेन गरेर थामथुम पार्टी र सरकार चलाउने समय भड्किएको भनेर उम्किनुभएको बताइन्छ ।

सो वार्तामा राष्ट्रपति भण्डारीले मंगलबार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई चार वटा प्रस्ताव राख्नुभएको बताइन्छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्ना सहकर्मी वरिष्ठ नेताहरुलाई बताए अनुसार राष्ट्रपति भण्डारीले आफू साक्षी बसेर दुई नेताबीच सहमति कायम गरी समस्या समाधान गर्न इच्छुक भएको बताउनुभयो ।राष्ट्रपतिले उहाँलाई राख्नु भएका चार प्रस्ताव यस्ता छन् :

एक, तपाईं र ओलीको पहलमा पार्टी एकता भएको हो, तपाईंहरू फेरि पनि मिलेर अगाडि बढ्नु पर्छ। मेरो उपस्थितिमा तपाईंहरू दुई अध्यक्षबीच नयाँ सहमति गरौं।

दुई, भदौमा भएको सहमति अनुसार तपाईंले सम्पूर्ण रुपमा कार्यकारी अध्यक्षको भूमिका खेल्नुहोस्। सबैलाई सहमतिमा लिएर बैठक राख्नेदेखि पार्टीका सबै जिम्मेवारी तपाईं नै सम्हाल्नुस्। त्यसको ग्यारेन्टि म गर्छु। ओलीले सरकार चलाउनु हुन्छ।

तीन, अबको एक वर्षपछि तपाईं नै प्रधानमन्त्री बन्नुहोस्। तपाईंकै नेतृत्वमा चुनाव गराऔं।

चार, महाधिवेशनपछि तपाईं पार्टीको एकल अध्यक्ष बन्नुहोस्। त्यसमा ओलीको पनि समर्थन रहन्छ।

राष्ट्रपतिका यी चार प्रस्ताव सुनेपछि प्रचण्डले ‘अब धेरै ढिलो भैसक्यो। यसरी जान सकिँदैन। ओलीले अहिले नै कम्तिमा एक पद छोड्नु पर्छ। अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुन पद छोड्ने उहाँलाई नै रोज्न दिउँ। तपाईंले ओलीलाई नै सम्झाउनोस्।’ भन्नुभएको थियो । कार्यकारी अध्यक्ष प्रचण्डले बुधबारको बैठकमा आफूले ल्याएको प्रस्तावमा छलफल हुने जानकारी राष्ट्रपतिलाई दिएर शितल निवासबाट बाहिरिनुभएको उहाँ निकट स्रोतले बताएको छ ।

प्रचण्डसंग भएको वार्ताको स्थिति बुझ्न र भावि कदममा राष्ट्रपतिको सहयोगको माग गर्न मंगलबार राति करिब ११ बजे प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नुभएको पनि बताइन्छ । त्यहाँ उहाँले एक पद छोडेर प्रचण्ड–माधव नेपाल समूहसँग सहमति गर्ने खाँचो आफूलाई नभएको बताउनुभयो।

शितलनिवासबाट फर्कदा अबेर भएकोले बुधबार बिहान उहाँले पार्टीको सचिवालय बैठक राखेकै समयमा क्याबिनेट बैठक बोलाउन मुख्यसचिवलाई निर्देशन दिनुभएको थियो ।

तर मन्त्रिपरिषदका वरिष्ठ तथा सचिवालयका अन्य सदस्यहरुले एकै समयमा दुई बैठक राख्दा फरक सन्देश जाने र प्रधानमन्त्रीले पार्टीको उपेक्षा गरेको आरोप लाग्ने भएकोले बैठकमा उपस्थित भएपछि मन्त्रिपरिषद् बैठक राख्न उपयुक्त हुने सुझाव दिएकोले मििन्त्रपरिषद् बैठक एक घण्टापछि सारिएको बताइएको छ।

सचिवालय बैठकमा के हुन्छ र मन्त्रिपरिषद्ले के निर्णय गर्छ अहिले स्वदेश तथा विदेशका नेपालीहरु व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।

Share Now

Leave a comment.