Prakash Adhikari November 23, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ८ मंसिर (बीबीसी) । कोरोना भाइरस विरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्।

अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिनुभएको हो।

डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाउनुभयो।

देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उहाँले त्यस्तो बताउनुभएको हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र २ लाख ५५ हजार जनाको मृत्यु भएको छ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी जर्मनीको बायोएन टेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन्।

दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ।

तयारी के छ ?

परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी(सेलहरू आफैँ बनाउँछ।

फाइजरले यो वर्षको अन्त्यसम्ममा ५ करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ।

डा. स्लावीले सीएनएनसँग ुअनुमति पाएको दुई दिनमैु खोप दिन सकिने बताए। खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ।

ग्राफिक
डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए। तर स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने छ।

अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

आउने केही हप्ताभित्र उसले पनि आफ्नो खोपको स्वीकृति खोज्ने ठानिएको छ।

डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोधात्मक क्षमता प्राप्त गरिने बताउनुभयो।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले देशव्यापी कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको चेतावनी दिएको छ।

Share Now

Leave a comment.