Prakash Adhikari June 28, 2022

काठमाडौं, १४ आषाढ । सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो ।

कूल १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई दिने भन्ने सन्दर्भमा लामो समयसम्म ठोस निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

मंगलबार सरकारले शेयर संरचनासमेत तयार पारेर कम्पनी मोडलमा निर्माण गर्ने गरी आवश्यक निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था गरिएको छ । त्यसमा सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालयका सचिव, ऊर्जा र अर्थ मन्त्रालयका एक एक जना राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र अन्य स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ । स्वतन्त्र सञ्चालकमा एक जना महिला अनिवार्य गरिएको छ । संस्थापक सञ्चालक बाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ ।

कम्पनीको पूँजीको संरचना

आयोजना निर्माणका लागि स्थापना हुने कम्पनीको अधिकृत पूँजी ६० अर्ब रुपैयाँ बराबरको हुनेछ । सो पूँजीलाई प्रतिशेयर १०० का दरले कूल ६० करोड कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । कम्पनीको तत्काल जारी पूँजी २० अर्ब रुपैयाँ बराबरको हुनेछ ।

कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी १० अर्ब रुपैयाँ बराबर रहनेछ । कम्पनीमा अर्थ मन्त्रालयको २५ प्रतिशत बराबरको शेयर हिस्सा रहनेछ । त्यो भनेको १५ करोड कित्ता बराबर रहनेछ ।

यस्तै ऊर्जा मन्त्रालयको ४० प्रतिशत बराबरको शेयर स्वामित्व रहनेछ । त्यो भनेको कूल २४ करोड कित्ता बराबर रहनेछ । प्राधिकरणको १४ प्रतिशत शेयर रहनेछ । त्यो भनेको ८ करोड ४० लाख कित्ता, विद्युत् उत्पादन कम्पनीको एक प्रतिशत अर्थात् ६० लाख कित्ता रहनेछ ।
त्यस्तै स्थानीयवासीले १० प्रतिशत अर्थात् ६ करोड र सर्वसाधारणले पनि समान ६ करोड कित्ता बराबरको शेयर प्राप्त गर्नेछन् ।

ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीलाई आयोजनाको लागतलगायतका पछिल्लो अवस्थाका बारेमा पुनरावलोकन गर्ने जिम्मा दिएको थियो ।

सो कम्पनीका प्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाले फ्रान्सेली कम्पनी ट्रयाकवेलले तयार पारेको डिपीआरका सन्दर्भमा पछिल्लो अवस्थाका बारेमा आफूहरुले केही राय सुझाव दिएको बताउनुभयो ।

उहाँले आयोजनाका सन्दर्भमा के गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा मन्त्रालयले स्पष्ट पार्न भनेका केही विषयमा सुझाव दिएको उल्लेख गर्नुभयो ।

फ्रान्सेली कम्पनी ट्रयाकवेलले आयोजनाको लागत २ खर्ब ७० अर्ब रुपैयाँ बराबर रहने बताएको थियो । तर यसबीचमा भएको मूल्यृद्धिका कारण आयोजनाको लागत बढ्ने भएको छ ।

Share Now

Leave a comment.