Prakash Adhikari March 21, 2018

नेपालगञ्ज(बाँके),७ चैत्र । ग्रीन इभेन्टो प्रालिको आयोजनामा आगामी बैशाख ३ देखि १२ गतेसम्म नेपालगञ्जमा ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजकहरुले अक्सनको आधारमा टीम निर्माण गरी प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएका छन् ।

बुधबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरुले प्रतियोगितामा ६ टिमलाई सहभागी गराउने जानकारी गराएका छन् ।

‘स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ हुने मूल नाराका आयोजना हुने सो प्रतियोगिता टी–२० फर्म्याटमा हुने ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले जानकारी दिए।

“यस प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडीमध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गर्नेछ,” रफीले भने “उनीहरुबाट ६ टिम तयार गरिनेछ र खरिदका लागि व्यवस्था मिलाइनेछ ”। हरेक टिमको सुरुवाती मूल्य ५० हजार तोकिएको उनले जानकारी दिए।

“हरेक टिममा अनुभवी खेलाडीलाई मेन्टरको रुपमा उपलब्ध गराउनेछौं” प्रबन्ध निर्देशक रफीले भने, ‘टिम मालिकलाई आर्थिक लगानी बाहेक थप झन्झट हुनेछैन, खेलाडीलाई आवास, भोजन, जर्सी लगायत सम्पुर्ण व्यवस्थापन आयोजकलेनै गर्नेछ।’

प्रतियोगितामा जिल्ला, क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका खेलाडीहरुलाई सहभागी बनाइने बताइएको छ ।

नेपालगन्ज क्रिकेट कपका इभेन्ट डाइरेक्टर सौगातविक्रम शाहले क्रिकेटर उत्पादनको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए (

“त्यसका लागि प्रदेश नं। ५ बाट ६० प्रतिशत र अन्य ठाउँबाट ४० प्रतिशत अनुपातमा खेलाडी सहभागि गराउन जोड दिइरहेका छौं’ शाहले भने “नेपालगन्जका लागि यो नयाँ अभ्यास हो, हाम्रो प्रमुख उद्देश्य यहाँको क्रिकेट माथि उकास्नु नै हो।”

अक्सनमा टिम निर्माण गर्न झण्डै डेढ दर्जन उद्योगी व्यवसायी इच्छुक रहेको शाहले जानकारी दिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीले परिकल्पना र अवधारणा यस ठाउँका लागि नौलो भएकाले खेलाडीलाई उत्साह जगाउने धारणा व्यक्त गरे।

पत्रकार भेटमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले मिसन आठौं राष्ट्रिय खेलकुदलाई टेवा पुग्ने गरी आयोजना गरिने हरेक प्रतियोगितालाई सघाउन आफुहरु तयार रहेको बताए। ‘

आठौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट मैदानको पर्खाल निर्माणदेखि अन्य भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेको अवस्थामा त्यसैलाई बहाना बनाई प्रतियोगिता सार्ने कार्य नहोस् भन्ने शुभेच्छा उनले प्रकट गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले हरेक प्रतियोगिताका लागि राखेप सहयोग गर्न तयार रहेको बताए।

प्रतियोगिताको कुल लागत २८ लाख ८५ हजार ७ सय ५० रुपैयाँ अनुमान गरिएको छ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख १० हजार, उपविजेतालाई ६० हजार नगद पुरस्कारले पुरस्कृत गरिनेछ।

अन्य विधागत पुरस्कार समेत नगद व्यवस्था गरिएको जनाउँदै कुल नगद पुरस्कार २ लाख विनियोजन गरिएको आयोजकले जनाएको छ।

बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने यस प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिले समन्वय गरिरहेको छ।

क्रियटिभ ह्याण्ड्स रणनीतिक पार्टनरका रुपमा रहेको छ।

Share Now

Leave a comment.