Prakash Adhikari October 31, 2022

काठमाडौं, १४ कार्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहानदेखि पूर्वनिर्धारित दिल्ली उडान कटौती गरेको हो ।

भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सको नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । निगमले दिल्लीमा दैनिक २ उडान गर्दै आएकोमा अब हप्ताको जम्मा १० उडानको अनुमति प्राधिकरणले दिएको छ । हप्ताको ४ उडान कटौती भएका छन् ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो ।

काठमाडौँ विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको दावी गरेको छ ।

प्राधिकरणको यो निर्णयले काठमाडौँ उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ ।

तर निगमले अन्य चार वायुसेवाले त्रिभुवन विमानस्थलबाट गरिरहेको उडान कटौती गरेको छैन ।भारतको इण्डिगो एअरलाइन्सले दिनहुँ दिल्लीबाट काठमाडौं ३ उडान गर्दै आएको छ । तर प्राधिकरणले उसको उडान कटौती गर्न सकेको छैन । कतार एअरवेजले पनि दैनिक ३ उडान गर्दछ । उसको उडान कटौती गरेको छैन । नेपालीको हिमालयन एअरलाइन्सको पनि उडान कटौती भएको छैन । यसरी सरकारी निगमको भाग खोसेर निजी पोस्ने प्राधिकरणको कामले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई पनि अपजस गएको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न सूचित गरेको छ । सरकारले स्वदेशी पहिलो भन्ने नारा लिइरहेको बेला स्वदेशीलाई कारबाही गरेर विदेशी पहिलो बनाउने प्राधिकरणको कामले चुनावी सरकारलाई पनि बदनाम गरेकको छ । सरकारको नीति विपरीत काम गर्न प्राधिकरणलाई कसले उक्सायो ?

प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ।

“जहाजको इञ्जिनियरिङ, टेक्निकल कर्मचारी व्यवस्थापन गर्न कम्तीमा डेढ महिना लाग्छ, हामीले तयारीका लागि समय पुगेन विचार गरिदिनुस् भनेका छौँ”, निगमका एक उच्च अधिकारीले भन्नुभयो । निगमले नयाँ दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । सातामा १४ उडान हुँदै आएकामा आजदेखि चार उडान कटौती भएको निगमले जनाएको छ ।

निगमको दिल्ली गन्तव्य व्यावसायिक हिसाबले राम्रो मानिन्छ । निगमले दिल्ली उडानबाट प्रति उडान करिब १ करोड नाफा गर्दै आएको छ । निगमले भारतको बैङ्लोर र मुम्बईमा पनि नियमित उडान गरिरहेको छ ।

दुई स्वदेशी एयरलाइन्स वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ ।

अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा समेत दुवै एयरलाइन्सले उडान सञ्चालन गर्नुपर्नेछ ।

हवाई सेवाको नियामक निकायलाई अन्तर्राष्ट्रिय उडान गर्नका लागि वायुसेवा कम्पनीहरुले गर्नुपर्ने न्यूनतम तयारीको जानकारी नहुनु आफैमा आश्चर्यको कुरा हो ।

काठमाडौँ विमानस्थलमा हाल तीन नेपालीसहित २६ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।

बल्लबल्ल तग्रिन लागेको नेपाल वायुसेवामाथि प्राधिकरणले चलाएको डण्डाले यसको नाफा, अन्तर्राष्ट्रिय साःख,विश्वसनीयतामा पनि असर पर्ने भएको छ ।

Share Now

Leave a comment.