धनगढी(कैलाली), १० फागुन । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा बुधवार दिउँसो स्थानीय समय दिउँसो १ः४५ मा ५.२ रैक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
उक्त भूकम्प नेपाल र भारतका विभिन्न ठाउँमा महसुस गरिएको विवरणहरू आएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो १ः४५ बजे मापन गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीमा पनि महसुस भएको थियो।
माघ महिनामा बाजुरामा केन्द्रबिन्दु भएका दुईवटा भूकम्प मापन भएका थिए।
तीमध्ये माघ १० गतेको भूकम्प ५.९ रेक्टर स्केलको थियो।
त्यसअघि कार्तिक महिनामा डोटी जिल्लामा ६.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सहतभन्दा २७.३ किलोमिटर तल उत्पत्ति भएको हो।
यस्तो छ पश्चिम नेपालमा भूकम्पको शृङ्खला
कार्तिक २२ः ५.७, डोटी
कार्तिक २२ः ४.१, डोटी
कार्तिक २३ः ६.६, डोटी
कार्तिक २४ः ४।१, बाजुरा
कार्तिक २६ः ५.४, बझाङ
कार्तिक २९ः ४.२, अछाम
पौष ७ः ४.१, दार्चुला
पौष ८ः ४.६, डोल्पा
माघ १०ः ५.९, बाजुरा
माघ १२ः ४.१, बाजुरा

तस्बिर स्रोत,लोकेन्द्रकुमार विष्ट
गत महिना भूकम्प आएपछि पानी परेकाले प्रभावित क्षेत्रका मानिसहरूको जीवन कष्टकर बनेको थियो
सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख गणेश चन्दले भूकम्पबाट बाजुराको हिमाली गाउँपालिकामा एउटा बालविकास केन्द्रको भवनमा क्षति पुगेको बताउनुभयो।
तर अन्य स्थानमा कस्तो क्षति पुग्यो भन्ने विवरण आइसकेको छैन।
बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले अहिलेसम्म भूकम्पको क्षतिको थप विवरण नआए पनि आफूले प्रहरीलाई चनाखो रहन र सूचनाहरू सङ्कलन गर्न निर्देशन दिएको बताउनुभयो।
“भूकम्पको केन्द्रबिन्दु बिच्छ्या भन्ने ठाउँमा रहेको कुरा आएको छ। त्यहाँ रहेको प्रहरी टोलीलाई पनि जानकारी पठाउन भनेका छौँ।”
जिल्ला प्रशासन कार्यालयस्थित विपद् सम्पर्क व्यक्ति नैन रावलले भूकम्पको धक्का सदरमुकाम मार्तडीमा पनि महसुस गरिएको बताए।
उहाँले भन्नुभयो, “भूकम्पको धक्का महसुस गरेपछि हामी सबै कार्यालयबाट बाहिर निस्कियौँ।”
भूकम्पको केन्द्रबिन्दु रहेको हिमाली गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी भवनहरूमा क्षति पुगेको बताइएको छ।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले सातदेखि आठ वटा घरहरूमा पनि क्षति पुगेको जानकारी दिनुभयो।
आफूहरूले विस्तृत विवरण सङ्कलनको काम जारी रहेको उहाँको भनाई छ।
बाजुरामा गत महिना गएको भूकम्पमा केही घरहरू पूर्ण रूपमा भत्किएका र केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको थियो।
भूकम्पका कारण कम्तीमा एक जनाको मृत्यु भएको थियो।
५.९ रेक्टरस्केल मापन गरिएको सो भूकम्पबाट सबैभन्दा बढी बाजुरा जिल्लाका गौमुल र हिमाली गाउँपालिका, खप्तड क्षेत्र तथा बडिमालिका नगरपालिकामा धनजनको क्षति भएको थियो।
पश्चिम नेपालमा भूकम्पको जोखिम कति ठूलो ?
गत कात्तिक महिनामा डोटी जिल्लामा ६.६ म्याग्निट्यूड को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो।
गत महिना बीबीसीसँग कुरा गर्दै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताउनुभएको थियो।
तर उहाँका अनुसार बाजुराको भूकम्प परकम्प नभई छुट्टै भूकम्प थियो।
“यसले उक्त क्षेत्रमा भूकम्पीय गतिविधि बढेको सङ्केत गर्छ”, उहाँले भन्नुभएको थियो।
पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्।
तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।
झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो।
सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।”अहिले भूकम्पीय गतिविधि दोहोरिँदा हामी विशेष रूपमा सजग हुनुपर्छ”, उहाँको सुझाव छ।

लोकविजय अधिकारी
विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन्।
गोरखा भूकम्पबारे विद्यावारिधि गरेका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ।
“म्याग्निट्यूड ६ बाट म्याग्निट्यूड ८ मा भूकम्प पुग्नका लागि १,००० गुना धेरै शक्ति आवश्यक पर्छ”, भूकम्पविद् अधिकारीले बीबीसीलाई भन्नुभएको थियो, “त्यसैले यसरी जाने साना भूकम्पका कारण शक्ति निष्कासन हुँदै जोखिम कम भएको सोच्नु हुँदैन।”
पश्चिम नेपालको कुन भागमा कहिले ठूलो भूकम्प जान्छ भन्न नसकिने विज्ञहरू बताउँछन्।
तर उनीहरू भूकम्प गएको ठाउँसँगै जोडिएका अरू खण्डमा भूकम्प जाने सम्भावनालाई अस्वीकार गर्दैनन्।
नेपालमा किन गइरहन्छ भूकम्प?
नेपालमा प्रत्येक दिन १० देखि १२ वटा भूकम्प गइरहन्छन्। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ। हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ।
भारत र तिब्बतका बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ।
भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ। भूगर्भशास्त्रीहरूले यसलाई ‘भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको’ पनि भन्ने गरेका छन्।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।
तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन्। तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन्।
केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निट्यूडको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।
उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाडौंको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन्।


















