Prakash Adhikari May 3, 2024

-अशोक दाहाल / बीबीसी न्यूज नेपाली

काठमाडौं, २१ बैशाख । मौसमविद्हरूले यस वर्षको बर्खा याममा नेपालमा पनि यूएईमा देखिएजस्तो अस्वाभाविक र चरम मौसमको प्रवृत्ति देखा पर्नसक्ने सम्भावना रहन सक्नेप्रति सचेत गराउँदै तयारी सुरु गर्नुपर्ने बताएका छन्।

निकै कम वर्षा हुने यूएईको आबुधाबी र दुबईमा बिहीवारबाट पुन उच्च वर्षा भइरहेको विवरण आएका छन्। नेपालमा भने लामो समयदेखि वर्षा नहुँदा सुख्खाका कारण एकातिर किसानहरू मर्कामा परेका छन् भने अर्कोतर्फ गर्मीले जनजीवन प्रभावित बनाएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण देखाउँदै विद्यालयहरू दुई दिनका लागि बन्द गरेको छ। “तातो हावा चल्न थालेका कारण विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने देखिएको” उपमहानगरपालिकाले आफ्नो सूचनामा उल्लेख गरेको छ।

लामो समय वर्षा नहुँदा देशका कैयौँ स्थानमा फैलिएको डढेलो नियन्त्रणमा समेत चुनौती देखिएको छ। बिहीवार देशभरि ३०० वटा डढेलोका घटना भएको सरकारी निकायहरूले उल्लेख गरेका छन्।

“यो कुरा जलवायु परिवर्तनसँग जोडिएको छ। हाम्रोमा मौसमको प्रवृत्ति परिवर्तन भएको छ। प्रीमनसुन र मनसुन प्रणाली नै अलिकति अनिश्चित जस्तो देखिएको छ,” जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल भन्नुहुन्छ।

“एउटा समयपछि अब चाहिँ पानी पर्छ भनिन्थ्यो। जति निश्चयका साथ त्यो भन्न सकिन्थ्यो अहिले हाम्रोमा मात्रै नभएर बाहिर पनि अनिश्चय जस्तो देखिएको छ।”

अर्को साता पानी पर्ने आकलन

नेपालमा साधरणतया मार्चदेखि मेसम्मको अवधिलाई मनसुनपूर्वको समय मान्ने गरिएको छ। तर यो वर्ष यो अवधिमा औसतभन्दा कम वर्षा भएको बताइएको छ।

नेपालमा मनसुन भारतको केरला हुँदै नेपाल प्रवेश गर्ने भएका कारण त्यहाँ प्रणाली विकास हुनै बाँकी भएकाले पूर्वानुमान गर्न अझै समय लाग्ने मौसमविद्हरू बताउँछन्।

गौचरस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्ग यो साताभरि नेपालमा वर्षाको सम्भावना नरहेको बताउनुहुन्छ।

“शनिवारसम्म पानी पर्ने सम्भावना देखिँदैन। यसकारण अब केही दिन अझै गर्मी बढ्न सक्छ,” उहाँले भन्नुभयो, “आइतवारबाट वर्षाको केही सम्भावना अनुमान गर्न सकिन्छ।”

त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल अझै एक सातासम्म वर्षाको सम्भावना कम रहेको बताउनुहुन्छ।

“यो पटकको प्रीमनसुनमा पानी परेन भन्दा पनि हुन्छ। प्री मनसुनमा यस्तो सुक्खा हुँदै नहुने त होइन तर यो पटक अलि धेरै नै कम पानी परेको हो”, उहाँले भन्नुभयो।

चरम मौसमको जोखिम

वरिष्ठ मौसमविद् पोखरेल विश्वका अन्य देशहरूको अवस्था हेर्दा यो वर्ष नेपालमा पनि चरम मौसमका घटनाहरूको आकलन गर्न सकिने बताउनुहुन्छ।

“यो वर्ष चरम मौसमका अवस्थाहरूको सङ्केत पनि देखिएको छ। वर्षा नहुने र भएपछि धेरै हुने अवस्था बढ्दै गएको छ,” पोखरेल भन्नुहुन्छ, “नेपालमा मात्र नभएर संसारभरि नै चरम मौसमका घटनाहरू बढिरहेका कारण हामीले त्यहीअनुसारको पूर्वतयारी गर्नुपर्ने देखिइसकेको छ। बालीनालीदेखि हाम्रो वासस्थानका कुराहरूमा पनि यो कुरालाई मनन गर्नुपर्ने देखिन्छ।”

नेपालमा प्रत्येक वर्ष जून महिनाको मध्यतिर (जेठ महिनाको अन्त्यतिर) मनसुन प्रवेश गर्ने गरेको छ। मौसमविद्हरूले जूनबाटै मनसुन विकास भए पनि जुलाईबाट मात्र नेपालमा वर्षा सक्रिय हुने आकलन गरिरहेका छन्।

तर मौसमी प्रणालीहरू विकास हुने क्रममा नै रहेका कारण अहिले नै त्यसबारे धेरै पूर्वानुमान गर्न नसकिने वरिष्ठ मौसमविद् पोखरेल बताउनुहुन्छ।

“समग्रमा विगतभन्दा कम वर्षा हुने र विषम घटनाहरू बढिरहेको हुनाले हामीले त्यसलाई पनि मध्यनजर गर्नुपर्छ,” उहाँले भन्नुभयो।

त्रिभुवन विश्वविद्यालयका अर्याल पनि मनसुनी जोखिमबारे अहिले नै पूर्वानुमान गर्नु हतार हुने बताउँछन्।

“मनसुनबारे अहिले नै पूर्वानुमान गरिहाल्ने समय आइसकेको छैन। मनसुन सामान्य नै पनि हुनसक्छ”, उहाँले भन्नुभयो।

यो वर्ष हावाहुरी पनि कम भएको हो ?

यो वर्ष हावाहुरी पनि विगतका वर्षहरूमा जस्तो नदेखिएको जानकारहरू बताउँछन्।

“हावाहुरीलाई पनि केही प्रणाली विकास हुनुपर्छ। अहिले तात्ने मात्रै कुनै प्रणाली नदेखिने र हावामा पानीको मात्रा पनि खासै देखिएको छैन। त्यसले गर्दा पनि हावाहुरी कम छ,” मौसमविद् पोखरेल भन्नुहुन्छ।

मौसमविद्हरूका अनुसार हावामा पानीको मात्रा बढी हुँदा वर्षा हुने र नभए पनि हावाहुरी चल्ने तथा मेघ गर्जन हुने अवस्था सिर्जना हुन्छ।

विशेष गरी मार्च, एप्रिल र मे महिनामा दक्षिण एशियाली क्षेत्रमा जमिन धेरै तात्छ। छिटो तात्ने भए पनि जमिन छिटै सेलाउँछ।

तर जमिनसँग जोडिएका समुद्रहरू ढिलो तात्ने र ढिलै सेलाउने भएका कारण जमिन र समुद्रबीच हावाको ओहोरदोहोर भइरहन्छ।

तापक्रम उच्च भएका क्षेत्रमा हावाको चाप कम हुने भएका कारण कम तापक्रम भएका क्षेत्रबाट त्यसतर्फ हावा बग्न थाल्छ।

जमिन धेरै तातेको ठाउँमा न्यूनचापीय क्षेत्र बन्छ र चाप न्यून भएको कारण त्यो ठाउँतर्फ हावा बहने भएका कारण हावाहुरी चल्ने गर्छ।

Share Now