Prakash Adhikari August 30, 2018

क्वालालम्पुर(मलेशिया) १४ भदौ । मलेसियामा भैरहेको एसिसि कप छनोट प्रतियोगिताअन्तरगतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स(यूएई)संग ७८ रनले पराजित भएको छ ।

बिहिबार आफ्नो दोस्रो खेलमा युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटिएको छ।

नेपालका लागि सुवास खकुरेलले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान टिक्न नसक्दा लगातार दोस्रो हार व्यवहोर्न पुग्यो । यसले एशिया कप खेल्नका लागि छनोट हुने सम्भावना झिनो हुँदै गएको छ । अब चयन हुन नेपालले बाँकी तीन खेल लगातार जितेरमात्र पुग्दैन, अरुले कसरी हराउछन भनेर हेर्नुपर्ने हुन्छ ।

आजको खेलमा नेपालका लागि खकुरेलले ९७ बल खेल्दै १ छक्का र २ चौकासहित ५० रन बनाए।

दीपेन्द्र सिंह ऐरीले ६४ बल खेल्दै २ चौका प्रहार गरे र ४० रन बनाए ।

कप्तान पारस खड्काले १६ रन बनाउँदा ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए।

नवौ नम्बरमा आएका सोमपाल कामीले २७ रन बनाए भने सन्दिप लामिछानेले २ रन बनाए।

युएईका लागि अहमेद राजाले सर्वाधिक ४ विकेट लिए। मोहम्मद नाबिदले ३ तथा आमिर हायातले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको थियो।

यो जितसँगै युएई २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ।

नेपाल लगातार दोस्रो हारसँगै पुछारबाट दोस्रो स्थानमा छ।

Share Now

Leave a comment.