नयाँदिल्ली(भारत), १९ चैत । भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट दिल्ली महिला आयोगले छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको छ ।
उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ ।
तर किशोरीहरुलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् । उद्धार गरिएका अधिकांश किशोरीहरुले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । तर दुई जनाले भने एजेन्टलाई दुई लाख रुपैयाँ दिएको दाबी गरेका छन् । उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।
(रासस-एएनआई)