इस्रो,बंगलुरु(भारत),२१ भाद्र(बीबीसी) । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान-२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको बताएको छ।
इसरोका प्रमुख के. शिवनले भने, “चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य थियो। तर त्यसपछि विक्रमसँग सम्पर्क विच्छेद भएको छ। तथ्याङ्कको समीक्षा भइरहेको छ।”
राति १.३० देखि २.३० को बीचमा चन्द्रमाको सतहमा अर्बिटरबाट अवतरणका लागि तयार पारिएको विक्रम ल्यान्डर नाम गरेको यान पठाइँदै थियो।
भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुगेका थिए।

सबै कुरा राम्ररी अघि बढिरहेको थियो र वैज्ञानिकहरू विक्रम चन्द्रमाको सतह निकट पुग्न लागेको हर क्षणलाई पछ्याइरहेका थिए।
तर अन्तिम क्षणतिर इसरो केन्द्रमा तनावपूर्ण स्थिति बनेपछि वैज्ञानिकका मुहारमा चिन्ता प्रकट हुन थालेको देखिन्थ्यो।
केही बेरपछि इसरो अध्यक्ष प्रधानमन्त्री मोदीकहाँ गएर अवस्थाको जानकारी गराए। इसरोका पूर्व अध्यक्ष कस्तूरीरंगन र के. राधाकृष्णनले उनको काँध थपथपाएर सान्त्वना दिए।
इसरो प्रमुखले यसअघि नै चन्द्रमा सतहमा अवतरण गर्नुअघिको १५ मिनेट ‘भयाक्रान्त’ हुने बताएका थिए।

प्रज्ञान रोवर
त्यसको केही बेरपछि इसरोका अध्यक्षले बताए- विक्रमसँग इसरो केन्द्रको सम्पर्क विच्छेद भएको छ।
त्यसपछि प्रधानमन्त्री मोदी वैज्ञानिकहरूको बीचमा गए र उनीहरूको हौसला बढाउँदै भने: “जीवनमा उतार चढाव आइरहन्छ। सम्पर्क विच्छेद हुँदा मैले हेरिरहेको थिएँ। तर यो कुनै सानो उपलब्धि होइन। मुलुकले तपाईँहरूमाथि गर्व गर्छ। तपाईँहरूको मेहनतले धेरै कुरा सिकाएको पनि छ…मेरो तर्फबाट तपाईँहरू सबैलाई बधाइ छ। विज्ञानले देशको र मानवजातिको ठूलो सेवा गरेको छ। यो चरणबाट हामीले धेरै कुरा सिकिरहेका छौं। हाम्रो यात्रा अगाडि पनि जारी रहनेछ। म पूर्ण रुपमा तपाईँहरूको साथमा छु।”
गरिबीमा जन्मिएका यिनले कसरी भारतलाई चन्द्रमा र मङ्गल ग्रहमा पुग्न सघाए
भारतीय अन्तरिक्ष वैज्ञानिकहरूका लागि शुक्रवारको रात महत्त्वपूर्ण थियो।
राति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान-२ को विक्रम ल्यान्डरलाई विस्तारै-विस्तारै चन्द्रमाको सतहतर्फ लगिरहेका थिए।

विक्रम ल्यान्डरलाई पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट छुट्याउनुपर्थ्यो र उसलाई चन्द्रमाको सतहतर्फ लगिनुपर्थ्यो।
ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर पनि थियो जसले सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुम्न र वैज्ञानिक परीक्षण गर्नुथियो।
इसरोको चन्द्रयान-२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो।
सबै राम्रै भइरहेको भएपनि सतहमा पुग्नु केही बेरअघि ने ल्यान्डरसँग सम्पर्क विच्छेद भयो।

ल्यान्डरसँग सम्पर्क विच्छेद भएपनि यसका प्रमुको मनोबल बढाउँदै पूर्व इसरो प्रमुख र अरुहरू
यदि सफल भएको भए अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्नेवाला थियो।
१५ करोड अमेरिकी डलर लगानी गरिएको यस मिशनलाई अन्य देशले सोही कामका लागि गरेको लगानीको तुलनामा कम खर्चिलो मानिएको थियो।
यसअघि सन २००८ मा भारतले चन्द्रयान-१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको कुरा पत्ता लगाएको थियो।
चन्द्रयान-२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए।

यदि भारतको प्रज्ञान रोवरको सेन्सरले चन्द्रमाको दक्षिणी भागमा रहेको पानीको विशाल पोखरीको प्रमाण खोज्न सकेको भए यो ठूलो खोज हुनेवाला थियो।
यसलाई भारतीय अन्तरिक्ष निकायको अहिलेसम्मकै सबैभन्दा जटिल र महत्त्वकांक्षी काम मानिएको थियो।
चन्द्रयान-२ मिशनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिशन पठाउने योजनामा काम गरिरहेको छ।

चन्द्रयान २ को विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ र प्रज्ञान रोवरको चन्द्रमामा अवतरणको चित्रण
अहिले पनि पूर्ण रुपमा आशा समाप्त भइनसकेको र ल्यान्डरसँग सम्पर्क स्थापित हुनसक्ने आशा गरिएको बताइएको छ।
यो पलको साक्षी बन्न देशभरका ६० जना छात्र-छात्रा पनि यो सेन्टरमा बसिरहेका छन् जसलाई प्रश्नोत्तरपछि चयन गरिएको थियो।


















