Prakash Adhikari March 14, 2020

 

म्याड्रिड(स्पेन), १ चैत्र । यूरोपमा तीव्र गतिमा फैलदै गएको कोरोना भाइरसको प्रकोप नियन्त्रणको लागि स्पेन सरकारले शनिबारदेखि मुलुकभर संकटकालको घोषणा गरेको छ ।

भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गर्नुभएको छ ।

नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्न सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ ।

चीनको वुहानबाट सुरु भएको कारोनाको संक्रमण पछिल्लो समय युरोपमा फैलिएको छ । र, त्यहाँ कोरोनाबाट इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ । शनिबारसम्म कोरोनाका कारण मृत्यु हुने १ सय ९१ पुगेका छन् भने हालसम्म करिव ६ हजार मानिस सङ्क्रमित भएका छन् ।

स्पेन झण्डै १० हजार नेपालीको बसोबास छ । हालसम्म नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित नभएको म्याड्रिडस्थित नेपाली दूताबासले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले चीनबाट उद्गम भएको कोरोना भाइरसको केन्द्रबिन्दु यूरोप हुन सक्ने भन्दै रोकथाम र नियन्त्रणका प्रभावकारी कदमहरु चाल्न सरकारहरुलाई अनुरोध गरेको छ ।

Share Now

Leave a comment.