काठमाडौं, १० चैत्र । नेपालमा अर्का एक कोरोना भाइरसको संक्रमणमा परेका विरामी भेटिएका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार फ्रान्सबाट आएक १९ वर्षीया युवतीमा यस्तो कोरोना भाइरस संक्रमण देखिएको हो । उनलाई उपचारार्थ टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएको छ ।
‘हिजो बेलुका आएको रिपोर्टमा फ्रान्सबाट आएका एकजनामा कोरोना पोजिटिभ देखियो’, मन्त्री भानुभक्त ढकालले भन्नुभयो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए अनुसार टेकु अस्पतालमा उपचारार्थ बसेकै अवस्थामा उनमा कोरोना भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री ढकालले दिनुभएको जानकारी अनुसार ती संक्रमित विद्यार्थीको परिवारलाई पनि आइसोलेसनमा राख्ने तयारी गरिएको छ । उनी सँगै आएका साथीहरुको बारेमा पनि जानकारी लिने काम जारी छ।
पत्रकार सम्मेलनमा टेकुको अस्पतालमा हाल १० शय्याको आइसीयु कक्ष निर्माण कार्य जारी रहेको र सामान खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सरकारले परीक्षणको दायरा बढाउँदै ६० वर्ष माथिकाको पनि परीक्षण गर्ने तयारी गरेको छ।
नेपालमा यसपूर्व पनि एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनी उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
फ्रान्स पनि यूरोपमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राष्ट्रमध्ये एक हो।
त्यहाँ १६ हजार १८ जना कोरोनाबाट संक्रमित छन्। ६ सय ७४ को मृत्यु भइसकेको छ।


















