
काठमाडौं, १० असार। चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि मण्डलसहित स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओलीलाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री र्इश्वर पोखरेलले स्वागत गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाल र चीनबीच १४ वटा महत्वपूर्ण सम्झौता, समझदारीपत्र ९एमओयु० र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको बताए। ओलीले चीन भ्रमण अत्यन्त सकारात्मक र उत्साहप्रद भएको जनाए।
‘नेपालको विकासका लागि चीनियाँ राष्ट्रपति सकारात्मक हुनुहुन्छ’, प्रधानमन्त्रीले भने, ‘पारवहन र यातायात सम्बन्धी कुरा अगाडि बढेको छ। परिपक्क ढंगले पारवहनको कामलाई अगाडि बढाइने छ।’ रेलवे नयाँ प्रयोग र नयाँ उपलब्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले रेलमार्ग बन्न केही समय लागे पनि जुलाईभित्र ट्रान्जिट ट्रान्सपोर्ट सम्बन्धमा आवश्यक तयारी पुरा हुने जानकारी दिए।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको उपलब्धि बुदागत रुपमा प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री ओली आइतबार बिहान ल्हासाबाट काठमाडौं फर्कनुभएको हो । उहाँलाई ल्हासा अन्तराष्टिय विमानस्थलमा चीनको स्वशासित क्षेत्र ल्हासाका सरकारी अधिकारीहरुले विदाई गरेका थिए ।
प्रधानमन्त्रीद्वारा शनिवार कृषि परियोजना अवलोकन
प्रधानमन्त्री ओली लगायतको नेपाली प्रतिनिधिमण्डलले शनिवार क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को आज अवलोकन गरयो । तिब्बत जनसरकारले तिब्बतमा आधुनिक कृषि प्रणाली अपनाउन ‘पाइलट जोन’ बनाएको हो । कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र धेरै भन्दा धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ तिब्बत जनसरकारले काम गरिरहेको छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले ‘फोर सिजन ह्याप्पी भिलेज’ पुगेर त्यस गाउँका बारेमा पनि जानकारी लिनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापना गरेको सो एकीकृत गाउँ पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।
नेपाली प्रतिनिधिमण्डलले शनिवार पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी थिए।
विश्व सम्पदा सूचीमा सन् १९९४ मा सूचीकृत पोताला दरबार राजा स्रङचङ गम्पोकोपालामा एक हजार ३०० वर्ष पहिले निर्माण भएको हो ।
यस्तै, विश्व सम्पदा सूचीमा रहेको जोखान मन्दिर तिब्बतको प्रमुख आर्कषण हो ।