काठमाडौं, ८ फागुन । साताको अन्तिम दिन बिहीबार पनि नेपालको शेयर बजार थोरै बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि बढेर बन्द भएको बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन धितोपत्र बजार परिसूचक ३.१४ अंक बढेर २७४३.७४ विन्दुमा पुगेको छ। पछिल्ला केहि कारोबार दिन निरन्तर रुपमा बढेको र लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार सुस्ताएको हो ।
यस दिन कारोबार रकम भने घटेको छ । बिहीबार १ करोड ५६ लाख ३७ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने विन नेपाल लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाईड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
बिहिबार लक्ष्मी लघुवित्त र उपकार लघुवित्तको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ।
यस दिन बाराही हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको आज ८.३५ प्रतिशतले शेयर मूल्य घटेको हो । गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.७० प्रतिशतले बढेको हो ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।
बिहीबारको बजारमा कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा २.४२ प्रतिशतले बढेको हो । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले सकारात्मक भएको हो । यस दिन विकास बैंक, वित्त बैंकिङ, होटल तथा पर्यटन, हाईड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन र माईक्रोफाइनान्स उपसमूहको परिसूचक घटेको छ ।


















