Prakash Adhikari October 29, 2025

चामे(मनाङ), १२ कार्तिक। भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ।

प्रमुख जिल्ला अधिकारी युवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिनुभयो। “फसेका पर्यटकको उद्धार गरिरहेका छौं। हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ। अन्य सवारीसाधनको अभाव छ”, उहाँले भन्नुभयो ।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उहाँले जानकारी दिनुभयो।

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन्।

Share Now