Prakash Adhikari October 29, 2025

काठमाडौं, ११ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रूम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ ।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ (गोर्खाली) ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रूमको साँचो हस्तान्तरण गर्नुभएको हो ।

७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडिओ वाल, नेटवर्क प्रणाली र अपरेसनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ। योसँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सिसिटिभीको निगरानीमा रहने छन्।

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले यो परियोजना केवल संरचना हस्तान्तरण नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीकको रूपमा रहेको बताउनुभयो ।

उहाँले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरू गरेको बताउँदै त्यसका लागि एनआरएनएले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

श्रेष्ठले विश्वका स्मार्ट सहरहरू सिङ्गापुर, टोक्यो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिँदै नेपालमा पनि कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मनिटरिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

एनआरएनएले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) चेकिङका लागि ब्रेथलाइजरहरू हस्तान्तरण गर्ने जनाएको छ।

ट्राफिक प्रहरी कन्ट्रोल रूम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गर्नुभयो।

उहाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित ‘स्मार्ट सिटी’ को अवधारणामा लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले ट्राफिक व्यवस्थापन केवल प्रहरीको काम मात्र नभई सम्पूर्ण सरोकारवालाको सामूहिक दायित्व भएको पनि बताउनुभयो ।

करिब ४० दिनको निरन्तर प्रयासपछि सम्पन्न भएको कन्ट्रोल रूम हस्तान्तरण कार्यक्रममा एआइजी कार्कीले ट्राफिक म्यानेजमेन्टको ‘फोर ई’ सिद्धान्तको विस्तृत व्याख्या गर्दै नेपाल प्रहरीले अब प्रविधिमार्फत ‘फेस लेस’ कारबाही प्रणालीमा जाने लक्ष्य राखेको बताए। फोर ईमा इन्जिनियरिङ, एजुकेसन, इन्भाएरनमेन्ट र इन्फोर्समेन्ट पर्छन्।

ट्राफिक प्रहरीको चुनौतीबारे एआइजी कार्कीले सवारी दुर्घटनामा मानवीय क्षतिको भयावह तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नेपालको दुर्घटनामा हुने कुल मृत्युको ४४ प्रतिशत मोटरसाइकल प्रयोगकर्ता र ४२ प्रतिशत पैदल यात्री हुने गरेका छन्, जसले कूल मृत्युको ८६ प्रतिशत हिस्सा ओगट्छ।

उहाँले सार्वजनिक सवारी साधनका चालकले मादक पदार्थ सेवन गरेर आम नागरिकको जिउ ज्यानसँग खेलवाड गरेको अवस्था किमार्थ स्वीकार्य नहुने बताउँदै मापसे तथा लागूपदार्थ सेवन विरूद्धको चेकिङलाई निरन्तरता दिइने बताउनुभयो।

एआइजी कार्कीले यो महत्त्वपूर्ण कन्ट्रोल रूमको पुनर्निर्माणमा सक्रियताका साथ सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार व्यक्त गर्नुभयो।

Share Now