काठमाडौं, २४ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त हुनुभएको छ। मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उहाँलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसपूर्व उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धक रहनुभएका पौडेलले यता कार्यकारी अध्यक्षमा नियुक्ति पाउने पक्का भएपछि सोमबार महाप्रवन्धक पदबाट राजीनामा दिनुभएको हो।
उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार पौडेल,अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो। निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री मातृका यादबलाई पेश गरेको थियो। पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन्। उदयपुर सिमेन्टमा महाप्रवन्धक भएर गएपछि उहाँले उदयोगलाई नाफामा लैजानुभएको थियो ।
नोक्सानीमा पुगेर जर्जर भएको उद्योगलाई गत वर्ष २५ करोड रुपैयाँ मुनाफामा पुर्याएपछि प्रधानमन्त्री केपीशर्मा ओली उहाँसंग विशेष प्रभावित भएको बताइन्छ ।
टेलिकममा डिल्लीराम अधिकारी
यता नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पुस २३ गते पदभार ग्रहण गर्नुभएको छ।

उहालाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय बमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गर्नुभयो।
सो अवसरमा उहाँले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गर्नुभएको थियो ।
उहाँले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
अन्तिम प्रतिस्पर्धामा रहेका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र १० तहकै संगिता पहाडीलाई पछाडि पार्दै सरकारी स्वामित्वको सबैभन्दा आकर्षक संस्थान नेपाल टेलिकमको नेतृत्वमा पुग्न सफल अधिकारीसमक्ष निजी क्षेत्रमा आक्रामक रुपले आएका दूरसञ्चार कम्पनीहरुसंग प्रतिस्पर्धा गर्दै संस्थालाई शीर्षमा राख्ने चुनौति थपिएको छ ।



















