Prakash Adhikari April 14, 2020

काठमाडौं, २ बैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्ना २५ सदस्य राष्ट्रको लागि आकस्मिक राहत ऋण स्वीकृत गरेको छ।

कोषकी प्रबन्धनिर्देशक क्रिस्टालिना जर्जिएभाले सोमबार विज्ञप्ति जारी गर्दै कोषको कार्यकारी बोर्डले कोरोना महामारीको असरलाई सम्बोधन गर्न कोषको महाविपत्ति नियन्त्रण तथा राहत ट्रस्ट (सीसीआरटी) अनुसार उक्त सेवा दिने निर्णय गरेको जनाउनुभएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यसअनुसार अत्यन्त गरिब र सहयोग अत्यावश्यक देखिएका हाम्रा २५ सदस्य राष्ट्रलाई अनुदानस्वरुप सहयोग दिन लागिएको हो।’ यसले ती राष्ट्रको आईएमएफको ऋण अर्को छ महिनासम्मको लागि कभर गर्नेछ। यसबाहेक अन्य राहत र स्वास्थ्य सामग्री पनि यही सहयोगअन्तर्गत प्राप्त हुने आईएमएफले जनाएको छ।

सीसीआरटीले तत्काल ५० करोड अमेरिकी डलर उपलब्ध गराउनेछ। यस किसिमको सहयोगको लागि भर्खरै बेलायतले प्रतिबद्धता जनाएको साढे १८ करोड डलर र जापानले प्रतिबद्धता जनाएको १० करोड डलर पनि यसअन्तर्गत पर्ने आईएमएफको भनाइ छ। चीन, नेदरल्यान्ड लगायतले पनि आईएमएफसँग सहयोगको प्रतिबद्धता जनाएका छन्।

आईएमएफले सहयोगका लागि अपिल समेत गरेको छ। सोमबार स्वीकृत सहयोग पाउने २५ देशमा नेपालसहित अफगानिस्तान, बेनिन, बुर्किनाफासो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, कोमोरस, कंगो, डीआर, द गाम्बिया, गिनी, गिनी बासु, हैटी, लाइबेरिया, माडागास्कार, मालावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोम, प्रिन्साइप, सिएरा लिओन, सोलमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन छन्।

Share Now

Leave a comment.