वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइने सहयोग रोक्का गरिएको घोषणा गर्नुभएको छ ।
उहाँले यो घोषणा गर्दा विश्व स्वास्थ्य संगठनलाई दिइएको सहयोगको पुनरावलोकन हुने पनि बताउनुभएको छ,जसमा कोरोनाभाइरस महामारीलाई समेटन यो संगठनले देखाएको सख्त अब्यवस्थापनलाई पनि हेरिने बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भन्नुभएको छ, ‘अमेरिकाले बर्षेनी ४०० मिलियनदेखि ५०० मिलियन डलर विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्दछ जबकि चीनले जम्मा ४० मिलियन डलरको हाराहारीमा सहयोग गर्दछ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसको उद्गम भएपछि त्यसलाई राम्रोसंग सम्हाल्न नसकेको पनि आरोप लगाउनु भएको छ । उहाँले विश्व स्वास्थ्य संगठनले समयमा नै विज्ञ चिकित्सकहरुको परिचालन गरेर यसको संभावित भयावह स्थिति आकलन गर्न सकेको भए अमेरिका लगायत मुलुकले चीनमा पहिल्यै यात्रा प्रतिबन्ध घोषणा गर्ने र यो संसारभर फैलनबाट रोकिन सक्ने अवस्था भएको पनि बताउनुभएको थियो ।
जबकी चीन यात्रामा प्रतिबन्ध लगाउनु केही दिन पहिले जनवरी २४ मा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘कोरोनाभाइरसको नियन्त्रणमा चीनले ज्यादै मिहेनत गरेको छ । अमेरिका चीनको यस प्रयास र यसको पादर्शिताको सराहना गर्दछ । यसले राम्रो काम गर्नेछ । वास्तवमा अमेरिकी जनताको तर्फबाट म चीनका राष्ट्रपति सीलाई धन्यवाद दिन्छु ‘ भन्नुभएको थियो ।
अमेरिकामा कोरोनाभाइरसको प्रकोप दिनुपूर्वसम्म अमेरिकी विदेशमन्त्री माइक पम्पियो र विदेश मन्त्रालयले सन १९४८ देखि नै विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहेकोले यो महामारीमा अमेरिकाले खुलेर सहयोग गर्ने बताएका थिए ।
यस पहिले उहाँले यो संगठन चीनमुखी भएको र यसलाई दिइने सहयोग रोक्न सकिने पनि बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यो महामारी देखिनुपूर्व नै संयुक्त राष्ट्र संघलाई दिइएको सहयोगमा प्रश्न उठाउनुभएको थियो । उहाँको आगमन पछि अमेरिकाले विश्व जलवायु कोषबाट हात झिकेको छ भने उहाँले विश्व व्यापार संगठनलाई पनि कडा आलोचना गर्नुभएको छ ।
बहुराष्ट्रिय संगठनहरुलाई दिइएको सहयोग कटौति गर्ने रणनीति अन्तरगत यो महामारी पूर्व नै अमेरिकी सरकारले विश्व स्वास्थ्य संगठनलाई सन २०२१ का लागि दिइने सहयोग ६५ मिलियन डलरले कटौति गरेको थियो ।
अमेरिकाले विश्व स्वास्थ्य सगठनको सहयोग रोक्ने घोषणा गरेकै बेलामा अमेरिकाको रणनीतिक साझेदार मानिएको र कोरोनाभाइरसको संक्रमणबाट अत्यधिक प्रभावित बेलायतले भने यस संगठनलाई यो महामारीको संकटसंग जुध्न थप ६५ मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ ।


















