Prakash Adhikari April 20, 2020

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), ८ बैशाख (बीबीसी) । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।

यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ।

न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका बेला गभर्नर एन्ड्र्यू कोउमोले आफ्नो राज्यमा ‘आक्रामक रूपमा’ एन्टीबडी परीक्षण गरिने बताउनुभएको छ।

उक्त परीक्षणले न्यूयोर्कमा कोरोनाभाइरसबाट कति मानिस सङ्क्रमित छन् भन्ने कुरा पहिचान गर्ने बताइएको छ।

कोउमोका अनुसार उक्त परीक्षण अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले स्वीकृत गरेको छ र प्रत्येक हप्ता १४ हजारसम्म मानिसको परीक्षण गरिनेछ।

सबै किसिमका सङ्केतले न्यूयोर्कमा उक्त महामारीको प्रभाव घट्दै गएको देखाएको गभर्नर क्योमोले बताउनुभएको छ। तर यो क्रमलाई निरन्तरता दिनका लागि निरन्तर प्रयास जारी राख्नुपर्ने उहाँको भनाइ छ।

अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५ सय न्यूयोर्कमा छन्।

अमेरिका
न्यूयोर्कको सेन्ट्रल पार्कमा अस्थायी अस्पताल बनाइएको छ

नियमित पत्रकार सम्मेलनका क्रममा आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण ूतीव्र गतिूमा अगाडि बढाइएको बताउनुभएको छ।

‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन’, राष्ट्रपतिले भन्नुभयो। यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नजिक पुगेको छ।

मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३ हजार ६ सय ६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।

इटलीमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख ७८ हजार ९ सय ७२ पुगेको छ। त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १लाख ९६ हजार ६ सय ६४ सङ्क्रमित छन्। त्यहाँ २० हजार ५ सय ९५ जनाले ज्यान गुमाइसकेका छन्।

Share Now

Leave a comment.