Prakash Adhikari March 7, 2022

मिन्स्क(बेलारुस), २३ फागुन(बीबीसी) । बेलारुसका स्थानीय सञ्चारमाध्यमले रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुस आइपुगेको विवरण प्रकाशित गरेका छन्।

शान्ति स्थापना गर्न कुनै प्रगति हासिल नगरी यसअघि गरिएका दुई चरणका वार्ता टुङ्गिएका थिए। युक्रेनी नागरिकहरूलाई सैन्य कारबाहीबाट जोगिन अन्यत्र जान दिन निकास मार्ग प्रदान गर्ने विषयमा वार्ता केन्द्रित हुने बुझिएको छ।

रुसले युक्रेनका दक्षिणी र पूर्वी भाग सहरहरूमा गोलाबारी जारी राखेको छ।

शनिवार त्यस्तो मार्ग स्थापित गर्ने विषयमा भएका प्रयासहरू युद्धविराम हुन नसक्दा विफल भएका थिए।

आइतवार राति रुसले गरेको अर्को प्रस्ताव युक्रेनले अस्वीकार गरेको छ। रुसले युक्रेनीहरूलाई किएभबाट जाने मानिसलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको स्पष्ट भएपछि युक्रेनले उक्त प्रस्तावलाई अनैतिक भनेको छ।

रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट १७ लाख मानिस अन्यत्र गइसकेका छन्।

आक्रमण रोक्ने रुसका तीन शर्त

यदि युक्रेनले रुसका सर्तहरू माने कुनै बेला पनि जारी सैन्य कारबाही बन्द गर्न सक्ने रुसले बताएको छ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार त्यसका लागि युक्रेनले क्राइमियालाई रुसी भूभाग तथा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्नुपर्छ।

त्यसबाहेक युक्रेनले आफ्नो संविधान संशोधन गरेर कुनै गठबन्धन जस्तै नेटोमा प्रवेश नगर्ने निश्चित गर्नुपर्ने छ।

त्यसो भयो भने रुसले युक्रेनमा असैनिकीकरण गर्नेछ र रुसी सैन्य कारबाही जुनसुकै बेला पनि रोकिन सक्छ।

उहाँले रुसले युक्रेनको थप भूभागमा आफूले दाबी गर्न नखोजेको कुरामा जोड दिनुभयो।

रुसले सन् २०१४ को मार्चमा क्राइमिया गाभेको थियो अनि केही सातापछि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रुसलाई समर्थन गर्ने पृथक्तावादी समूहहरूलाई समर्थन गरेको थियो।

रुसको प्रस्ताव अनैतिकः युक्रेन

शरणार्थीहरूलाई बेलारुस वा रुस पठाउन बाटो खोलिदिने रुसको प्रस्ताव पूर्णतया अनैतिकू भएको युक्रेनले बताएको छ।

युक्रेनी नागरिकहरूलाई युक्रेनी भूमिबाट नै आफ्नो घर छोड्न अनुमति दिनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रवक्ताले बताउनुभएको छ।

“जनताको पीडालाई टेलिभिजनमा देखाउने तस्बिरका रूपमा प्रयोग गरिन्छ। यो पूर्ण रूपमा अनैतिक काम हो”, रोएटर्स समाचारसंस्थाले प्रवक्तालाई उद्धृत गरेको छ।

प्रवक्ताको लिखित सन्देशमा लेखिएको छ, “उनीहरू युक्रेनका नागरिक हुन् जोसँग यहाँको भूमि छोड्ने अधिकार हुनुपर्छ।”

यसअघि रुसले युक्रेनका सर्वसाधारण नागरिकलाई बेलारुस वा रुसतर्फ जाने मार्ग खोलने प्रस्ताव राखेको थियो ।

रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको हो।

युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले रुसले प्रस्ताव गरेका छवटा मानवीय करिडर आफ्ना लागि अस्वीकार्य भएको बताउनुभएको छ।

रुसले प्रस्ताव गरेका छवटा सहरमध्ये मारिऊपोल र सुमीमा मात्र रुसका अरू स्थान जान सकने मार्गहरू छन्। अन्यत्रका मार्गहरू रुस वा बेलारुस जान्छन्। यो युद्धमा बेलारुसले मस्कोलाई साथ दिएको छ।

“मानवीय करिडर खोल्ने यो अस्वीकार्य तरिका हो”, भेरेश्चुकले भन्नुभयो, “हाम्रा नागरिकहरू विमानबाट अन्ततः रुस लगिनका लागि किएभबाट बेलारुस जाँदैनन्।”

आइतवार राति रुसले स्थानीय समयानुसार सोमवार बिहान १० बजेदेखि अस्थायी युद्धविराम गर्ने भन्दै एउटा पत्र पठाएको थियो।

युक्रेनले ती मार्गबारे आफ्नो सर्तसहित प्रत्युत्तर दियो – विशेषगरी मानिसहरूलाई रुसबाट टाढा पश्चिमी युक्रेनतिर जान दिने बाटो खोलिदिनुपर्ने भन्दै।

युक्रेनी उपप्रधानमन्त्रीले अमेरिका, यूके र फ्रान्सलाई ती मार्ग स्थापना गर्न सघाउन आग्रह गर्नुभएको छ।

युक्रेनी राष्ट्रपतिका एक प्रवक्ताले युक्रेनी नागरिकलाई युक्रेनी भूमिबाटै अन्यत्र जान दिइनुपर्ने बताउनुभएको छ।

किएभ शान्त छ ?

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेटले युक्रेनको अवस्थामा टिप्पणी गर्दै भन्नुभएको छ, सर्वसाधारणलाई युक्रेनबाट बाहिर निस्कने बाटो खोलिदिनु अत्यावश्यक भएको छ।

रुसी सेनाद्वारा घेरिएको दक्षिणी बन्दरगाह सहर मारिऊपोलमा बिजुली र पानी उपलब्ध छैन। मानिसहरूमा खाद्य सामाग्रीको अभाव भएको छ र शवहरू सडकमै लडिरहेका छन्।

इरपिनसहित राजधानी बाहिरका अन्य ठाउँहरूमा लगातार रुसी प्रहार भइरहेको छ।

तर सुरक्षित निकासका लागि प्रस्तावित ६ वटा मार्गमध्ये चार वटा पूर्वमा रुसतर्फ सोझिन्छ वा उत्तरमा त्यस देशको प्रमुख सहयोगी बेलारुसतर्फ सोझिन्छ।

युक्रेनले यसरी बाटो खोलिने प्रस्तावलाई पूर्ण रूपमा अनैतिक भन्दै आलोचना गरेको छ।

रुसी आक्रमणको १२ औँ दिनमा रुसी अस्त्रले ब्ल्याक सी नजिकैको अर्को दक्षिणी सहर माइकोलाइभको आवासीय क्षेत्रहरूमा प्रहार भइरहेको छ। युक्रेनी सेनाका अनुसार पूर्वमा चुहुइभ सहर पुनः उनीहरूले कब्जा गरेका छन्।

यस्तो रक्तपातपूर्ण अवस्थाका बाबजुद राजधानी किएभको केन्द्र अझै पनि शान्त छ – तर सहरको किनारमा तीव्र लडाइँ र लगातार विस्फोटहरू भएका छन्।

किएभनजिकै रहेको इर्पिनबाट भाग्न खोज्दा आइतवार केही मानिसको मृत्यु भएको थियो ।

मारिऊपोलको निकास मार्गमा विस्फोटक पदार्थ !

इन्टरन्याश्नल कमिटी अफ रेड क्रस (आईसीआरसी)का एक निर्देशक डोमिनिक स्टिलहार्ट बीबीसी रेडिओ फोरको कार्यक्रम ‘टुडे’सँग कुरा गर्दै युक्रेनको मारिऊपोलबाट मानिसहरूले अन्यत्र जान प्रयोग गर्न सक्ने सहमति भएको बाटोमा विस्फोटक पदार्थ राखिएको थाहा भएको बताउनुभएको छ।

कथित ‘मानवीय कोरिडोर’हरू सञ्चालनमा नआउनुको कारणबारे सोध्दा उहाँले आफूहरू ‘केही दिन’देखि रुस र युक्रेन दुवै पक्षसँग छलफल गरिरहेको बताउनुभयो। तर युद्धविराम सम्झौताबारे विवरण पुष्टि गर्न बाँकी रहेकाले सर्वसाधारण युक्रेनीलाई आक्रमण भएका सहरहरूबाट निकाल्ने अनुमति दिन समस्या भएको बताउनुभयो।

स्टिलहार्टले दुबै पक्षलाई निश्चित, व्यावहारिक र सटीक सम्झौतामा ल्याउनु चुनौतीपूर्ण भएको बताउनुभयो।

उहाँले त्यहाँ हालसम्म सैद्धान्तिक सम्झौताहरू मात्र भएको र ती धेरै बेर नटिकेको सुनाउनुभयो। उहाँका अनुसार ती सम्झौताहरूमा सटीकता, मार्गहरूको जानकारी र त्यसलाई कसले प्रयोग गर्न सक्छन् भन्ने कुरा स्पष्ट थिएन।

उहाँले आईसीआरसीका केही कर्मचारी आइतवार मारिऊपोलबाट निस्किनका लागि सम्झौता गरिएको मार्गबाट बाहिर आउने प्रयास गरेको सुनाउनुभयो । तर तत्काल “निर्धारण गरिएकोमार्गमा विस्फोटक पदार्थ राखिएको थाहा भयो।”

“त्यसैले दुई पक्षबीच स्पष्ट सम्झौता हुनु महत्त्वपूर्ण छ। त्यसपछि हामी आवश्यक ठाउँमा सहजीकरण गर्न सक्षम हुन्छौँ।”

रुसी विदेशमन्त्रीले युक्रेनी समकक्षीसँग भेटवार्ता गर्ने

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले बिहीवार टर्कीको अनटाल्यामा युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट्ने अनुमान गरिएको छ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा यो भेटवार्ता हुन लागेको हो।

युक्रेनले त्यहाँको सहरहरूका आवासीय क्षेत्रमा रकेट आक्रमण जारी रहेको र राजधानी किएभले पूर्ण स्तरको आक्रमणको सामना गर्नु पर्ने हुनसक्ने बताएको छ।

त्यस्तै युक्रेनी र रुसी पक्षबीच केही घण्टामा तेस्रो चरणको वार्ता हुने अपेक्षा गरिएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार किएभको समयानुसार दिउँसोको ४ बजे वार्ता सुरु हुनेछ।

‘मिकोलाइभमा पुनः रुसी गोलाबारी’

युक्रेनको दक्षिणी तटीय सहर मिकोलाइभमा रुसले पुनस् गोलाबारी सुरु गरेको खबर आएको छ।

स्थानीय अधिकारीहरूले उक्त विवरणबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

तर स्थानीय “न्यूज-एन” समाचारसंस्थाले स्थानीय समयानुसार बिहान ५ बजेदेखि गोलाबारी सुरु भएको जनाएको छ।

न्यूयोर्क टाइम्सका एक संवाददाताले पोस्ट गरेको भिडिओ फुटेजमा पनि रातको समयमा आकाशमा विस्फोटन भएको देखिन्छ।

उनले ट्वीट गर्दै गोलाबारी सहरको पूर्वी क्षेत्रमा केन्द्रित भएको जनाएका छन्।

युक्रेनी फौजले झन्डै पाँच लाख जनसङ्ख्या भएको उक्त सहरलाई रुसी आक्रमणबाट पुनः नियन्त्रणमा लिएको एक दिनपछि फेरि त्यहाँ रुसी फौजले आक्रमण गरेको खबर आएको हो।

 

Share Now

Leave a comment.