काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी हुनुभएको छ।
दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वारलाई पराजित गर्नुभएको हो।
शाहले ७ सय ७९ मत पाउनुभये भने स्वारले ७ सय ११ मत पाउनुभएको थियो।
यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो।
सर्लाहीको निर्वाचन स्थगित
यसैबीच प्राप्त समाचार अनुसार नेपाली कांग्रेस सर्लाहीको चुनाव स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिनुभएको छ।
उहाँका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो।
निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए।
आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए ।
पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा तीन हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् ।
कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा खडा भएका छन्।


















