
महेन्द्रनगर(कञ्चनपुर), १८ मंसिर। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताउनुभएको छ ।
२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँ घर गएको बेलामा आफूसंग सम्पर्कमा रहेकी मायालाई भेट्नु भएको थियो । उहाँले स्थानीय बजारमा मायाको मोबाइल समेत खोस्नुभएको अनि माया र उनकी बहिनीलाई लिएर जंगलमा गएको बेला मायाको हत्या भएको थियो । उनकी बहिनी पनि घाइते अवस्थामा भेटिएकी तर भरत फरार रहेकोले उनको खोजी भैरहेको थियो ।
माया गत बुधबार शिवनाथ गाउँपालिकाको जंगलमा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।