
काठमाडौँ, १८ मंसिर । अमेरिकाको मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सहयोगमा निर्माण हुने विद्युत् प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान भएको छ ।
नेपालमा स्थापित मिलिनियम च्यालेञ्ज एकाउण्ट(एमसीए) नेपालले ४ सय केभी क्षमताका प्रसारणलाइन आयोजनाको डिजाइनदेखि जडान तथा परीक्षणसम्मको कार्यका लागि हालै ठेक्का आह्वान गरेको हो ।
यो परियोजना अन्तरगत पहिलो चरणमा काठमाडैंको लप्सीफेदी–नुवाकोटको रातमाटेदेखि हेटौंडासम्मको प्रसारणलाइन, दोस्रो चरणमा रातमाटेदेखि दमौलीसम्म र तेस्रो चरणमा दमौलीदेखि बुटवलसम्मको ४ सय केभी प्रसारणलाइनका लागि ठेक्का आह्वान गरिएको छ ।
ठेक्का लिनेले बुटवलदेखि भारतीय सीमा क्षेत्रसम्मको प्रसारणलाइन निर्माणका लागि पनि प्रस्ताव गर्न सक्ने छन् ।
ठेक्का प्रक्रियामा सहभागी हुन चाहनेले २०२३ मार्च २७ सम्म एमसीए नेपालको कार्यालय दरवारमार्गस्थित याक एण्ड यती कम्प्लेक्समा आवेदन दिन सक्ने छन् ।
एमसीसी कम्प्याक्ट कोषको कुल ५० करोड अमेरिकी डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजनाका लागि मात्रै खर्च हुने अनुमान छ ।
काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर प्रसारणलाइन जानेछ ।
प्रसारण लाइन करिब ३ सय १५ किमि लामो हुनेछ र ८ सय ५६ वटा टावर निर्माण हुनेछ ।