Prakash Adhikari August 22, 2023

क्वालालम्पुर(मलेशिया), ५ भाद्र । नेपालले चार देश सम्मिलित महिला टी २० आई सिरिजमा हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

नेपाली टोलीकी सीता रानामगरको सानदार बलिङ प्रदर्शनमा मलेसियामा भैरहेको अभ्यास खेलमा नेपालले बलियो प्रतिस्पर्धी हंगकंगमाथि सजिलो विजय हात पारेको हो ।

जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य हासिल गरेको थियो ।

नेपालको जितमा सम्झना खड्का ३६ बलमा ५ चौकासहित ३६ रनमा नट आउट रहिन् । सीता रानामगर ८ बलमा ३ रनमा नटआउट रहिन् ।

नेपालले ओपनर बिन्दु रावललाई दोस्रो बलमै शून्यमा गुमाएको थियो । डेब्यू खेल खेलेकी अर्की ओपनर पुजा महतो १८ बलमा १६ रन बनाउँदै आउट भइन् । उनी का यिंग चानको बलमा बोल्ड भएकी थिइन् । इन्दु बर्मा १३ बलमा ९ र रुविना २० बलमा १ चौकासहित १० रनमा आउट भइन् ।
हंगकंगका लागि इक्रा सहर, मारिको हिल, बिबी मर्याम र का यिंग चानले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा ८४ रनमा अल आउट भएको थियो ।
खेलमा हङकङकी ब्याटर का यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाएपनि त्यो जितको लागि पर्याप्त हुन सकेन । उनी बाहेक अन्य कुनैपनि हङकङका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

हङकङले तेस्रो ओभरको पहिलो बलमै प्रमुख ब्याटर मारिको हिललाई ६ रनमा गुमाएको थियो । तीव्र गतिकी बलर कविता कुँवरको बलमा हिल सीताबाट क्याच हुन पुगिन् । सुरुवातमै हिलको विकेट गुम्नु हङकङलाई भारी परेको थियो ।

अर्को ओभरमा हङकङले यासमिन दासवानीलाई ६ रनमै गुमायो । तीव्र गतिकी बलर पुजा महतोले उनलाई बोल्ड गरेकी थिइन् । एक समय ३.३ ओभरमा १३ / २ को अवस्थामा पुगेको हङकङलाई सिंह यान र का यिंग चानले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
एक समय हङकङ १२.३ ओभरमा ५५ / २ को अवस्थामा थियो ।

सीताले १३ औं ओभरको चौथो बलमा सिंह यान डोरोथेआ चानलाई १३ रनमा कविता कुँवरबाट क्याच गराइन् । उनले ३३ बल खेलेकी थिइन् । १४ औं ओभरको दोस्रो बलमा का यिंगलाई रुविनाले बोल्ड आउट गरेपछि नेपाल खेलमा पूर्ण रुपमा हाबी बनेको थियो । त्यसपछि सीताले थप चार विकेट लिँदै हङकङलाई दयनीय अवस्थामा पुर्याइन् ।

हङकङलाई रोक्ने क्रममा स्पिनर सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । यो उनको महिला टी २० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । नेपाली महिला टी २० आई क्रिकेटमा अन्जली चन्द, नेरी थापा र अश्मिना कर्माचार्यपछि पाँच विकेट लिने सीता चौथो बलर हुन् ।

हंगकंगलाई रोक्ने क्रममा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक एक विकेट लिए । इन्दु बर्माले २.१ ओभरमा ४ रन खर्चेर २ विकेट लिइन् ।

नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ । शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुईमा पुगेमा शनिबार फाइनल खेल्नेछ । पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ ।

नेपालले आगमी सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी २० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।( स्रोतःहाम्रो खेलकूद)

Share Now

Leave a comment.