काठमाडौं, ७ भाद्र । नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको बुधबार साँझ ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा.कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा. कार्कीका छोरा डा.अमितसिंह कार्कीले जानकारी दिनुभएको छ।
धादिङ, नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिव स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।
कार्कीको असामयिक निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै पार्टी सभापति शेरबहादुर देउवाले उहाँको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएकोे छ।
स्वर्गीय कार्कीको पार्थिव शरीरलाई आज (बिहीबार) बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।


















