Prakash Adhikari August 26, 2023

बिक्रम निरौला
तरहरा(सुनसरी), ९ भाद्र । स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा ‘गौहत्या विरुद्ध’ प्रदर्शनका लागि जाँदै गरेको र्‍याली तरहराबाटै फर्किएको छ।

धर्मगुरुहरूसहित इटहरीबाट अघि बढेको र्‍यालीलाई सुरक्षाकर्मीहरूले तरहरामै रोकेका थिए। प्रदर्शनका लागि पुगेकाहरूले त्यसपछि तरहरामै कोणसभा गर्दै देशभरि प्रदर्शन गर्ने घोषणा गरेका छन्।

यसअघि प्रदर्शनका लागि धरान जान आह्वान गरिएपछि प्रशासनले शनिवार दिनभरिका लागि धरान उपमहानगरमा निषेधादेश जारी गरेको थियो।

निषेधादेशका कारण शनिवार बिहानैदेखि धरानमा मानिसहरूको चहलपहल न्यून देखिएको स्थानीयवासीले बताएका छन्।

निषेधादेशका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन प्रभावित भए।

धरानका एकजना यातायात व्यवसायी कुमार कार्कीले धरानबाट अन्यत्र जाने र अन्यत्रबाट धरान भित्रिने सार्वजनिक सवारीको आवतजावत करिब ठप्प रहेको बताउनुभएको छ।

धरानमा बजार भने आंशिक खुलेको थियो। स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन भने अवरुद्ध नभएको बताइएको छ ।

धरानमा निषेधाज्ञा
प्रदर्शनका लागि गएकाहरूलाई इटहरी उपमहानगर पालिका क्षेत्रमै रोकिएका थिए

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले भन्नुभयो, “निषेधाज्ञालाई धरानवासीले पालना गरेका छन्।ू

धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो।

व्यवसायीहरूका अनुसार इटहरी हुँदै धरान जाने सबैजसो सवारीसाधनलाई इटहरीको तरहरा क्षेत्रबाट प्रहरीले रोकेर फिर्ता पठाएको छ।

विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्‍याली आयोजना गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि शनिवार राति १२ बजेसम्म धरान क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

धरानमा किन निषेधादेश ?

धरान
धरानमा केही मानिसले गोरु काटेर मासु खाएको भनिएको विवरण सार्वजनिक भएपछि धार्मिक सङ्घसंस्थाले त्यहाँ र्‍याली र प्रदर्शनको आयोजना गरेका थिए। उक्त र्‍यालीका कारण हुनसक्ने सम्भावित मुठभेड टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको बताएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सामूहिक रूपमा राजनीतिक, सामाजिक, धार्मिक भेला प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाइएको जनाएको छ।

धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षा कडाइ गरिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनुभयो।

गृह मन्त्रालयका अधिकारीहरूले धरानमा सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरी प्रशासनलाई सतर्क तुल्याइएको जनाएका छन्। उक्त विषयलाई लिएर सङ्घीय संसद्‌मा समेत चर्चा र चिन्ता व्यक्त गरिएको थियो।

स्थानीय प्रशासनले धरानमा केही दिनदेखि चर्किएको उक्त विवादले शान्ति सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ।

धरानमा क्रियाशील विभिन्न राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरी सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्।

गोरुको मासु खाएको भनिएको घटनालाई एउटा पक्षले आफ्नो जातीय, सांस्कृतिक र धर्मनिरपेक्षताले दिएको अधिकारको रूपमा व्याख्या गर्ने गरेको छ।

हिन्दू लगायतका धार्मिक संस्थाहरूले चाहिँ त्यसलाई धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा त्यसलाई चित्रण गरेका छन्।

एक साताअघि भएको भनिएको उक्त घटनाको फोटो र भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।

त्यसपछि घटनाको समर्थन र विपक्षमा सडक प्रदर्शन गर्ने विवरण सार्वजनिक भएपछि धरानमा सामाजिक सद्भावका लागि पहल थालिएको थियो।

हिन्दू धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको अगुवाइमा शनिवार धरानमा ‘गौहत्याविरुद्ध प्रदर्शन गर्ने’ घोषणा गरिएसँगै त्यसलाई रोक्न पहल भएका थिए।

जनप्रतिनिधिको अग्रसरता

सद्भाव र्‍याली

हिन्दू धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको अगुवाइमा शनिवार धरानमा ‘गौहत्या विरुद्ध प्रदर्शन गर्ने’ घोषणा गरिएको छ।

धरानका पूर्वजनप्रतिनिधिहरूले सबै पक्षसँग छलफल गरी सामाजिक एकता कायम गर्न पहल अघि बढाइएको बताएका छन्।

सद्भाव र्‍याली

धरानका चारजना पूर्वनगर प्रमुखहरूले एउटा संयुक्त विज्ञप्तिमा भनेका छन्, “एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यसअघि कहिल्यै भएको छैन। वर्षौँदेखिको आपसी सद्भाव, भाइचारा र एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दर्य हो, विशेषता पनि हो।”

धरानका नगर प्रमुख हर्क साम्पाङ राईले पनि ‘आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न’ अपिल जारी गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सामाजिक एकता र जातीय सद्भाव भाँड्ने कृत्य नगरौँ, नगराऔँ।”

पूर्वनगर प्रमुख तिलक राईले विभिन्न राजनैतिक दल, सङ्घ(संस्था लगायतका सरोकारवाला पक्षहरूसँग छलफल आयोजना गरेर ‘वर्षौँदेखि कायम जातीय एवम् धार्मिक सद्भाव खलबलिन नदिने प्रयास गरिरहेको’ जानकारी दिनुभएको छ।

शुक्रवार भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्ने र पक्ष र विपक्षमा कुनै खाले प्रदर्शन नगर्न अनुरोध गर्ने निर्णय भएको नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले बीबीसीलाई बताउनुभयो।

प्रशासनिक पहल

स्थानीय प्रशासनले धरानमा केही दिनदेखि चर्किएको उक्त विवादले शान्ति सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ।

प्रशासन र सुरक्षा निकायहरूले पनि सतर्कता अपनाएका छन्।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको निषेधादेशमा ‘अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्नरनगराउन’ भनिएको छ।

सुनसरीका प्रहरी उपरीक्षक ढकालले भन्नुभएको छ, “हामीले शान्ति सुरक्षा कायम गर्ने दिशामा सबैसँग समन्वय गरिरहेका छौँ।”

यसअघि धरानमा हिन्दू धर्मावलम्बीहरूको मन्दिर क्षेत्र नजिकै इसाई धर्ममा आस्था राख्नेहरूका लागि चर्च बनाउने क्रममा पनि निकै विवाद देखिएको थियो।

सामाजिक क्षेत्रका अगुवाहरूले बेला बेला निम्तिने त्यस्ता धार्मिक एवं सांस्कृतिक विवादको बेलैमा समाधान नखोजे सामाजिक सद्भाव बिथोलिने र त्यसले समाजमा नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन्।

Share Now

Leave a comment.