Prakash Adhikari November 6, 2020

वाशिंड.टन डीसी(संयुक्त राज्य अमेरिका), २१ कार्तिक । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार पूर्वउपराष्ट्रपति जो बाइडनको स्थिति थप मजबूत हुँदै गएको छ । उहाँ अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित हुने सुनिश्चित जस्तै भएको छ ।

उहाँले पछिल्लो पटक पेन्सिलभेनिया राज्यमा पनि अग्रता लिनु भएको छ ।

अमेरिकाको विश्वसनीय समाचार संस्था केबल न्यूज नेटवर्क(सीएनएन)ले दिएको पछिल्लो जानकारी अनुसार उहाँले सो राज्यको गणना भएका मतमा ४९४ मत हासिल गर्नुभएको छ । जुन संख्यामा ३२ लाख ९५ हजार ३ सय ४ मत हुन जान्छ । जहाँ राष्ट्रपति ट्रम्पले ४९.३ मत प्राप्त गर्नुभएको छ । जुन संख्यामा ३२ लाख ८९ हजार ७ सय १७ हुन आउछ । सो राज्यमा अझै १ लाख ३० हजार जति मत गणना हुन बाँकी छ ।

मतदानको दिन भएका विद्युतीय मतमा राष्ट्रपति ट्रम्पले जित्नुभएको सो राज्यमा हुलाकबाट अग्रीम हालिएका मतहरुको गणनामा डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाइडनले अग्रता लिनुभएको थियो ।

बाइडनका चुनावी अभियानका सारथीहरु अग्रीम मतका कारण बाइडनको सहज जित हुनेमा ढुक्क छन् ।

यस अगावै यस्ता मतहरुको गणनामा बाइडनले जर्जिया राज्यमा पनि अग्रता लिनुभएको छ ।

पेन्सिलभेनिया राज्यमा २० निर्वाचक मत रहेका छन भने जर्जियामा १६ निर्वाचक मत रहेका छन् ।

डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले मत गणना भैरहेका नेभादा र एरिजोना राज्यमा पनि अग्रता लिइरहनुभएको छ । नेभादामा ६ निर्वाचक मत रहेका छन भने एरिजोनामा ११ निर्वाचक मत रहेका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक २ सय ७० निर्वाचक मत मध्ये बाइडनले २ सय ६४ निर्वाचक मत हासिल गरिसक्नुभएको छ । गणना भैरहेका राज्यहरुको मत थपिदा उहाँलाई आवश्यकताभन्दा ज्यादै मत प्राप्त हुने देखिन्छ ।

शक्ति राष्ट्र अमेरिकाको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडन निर्वाचित हुने लगभग निश्चित भएकोले अमेरिकी सुरक्षा निकाय यूएसएसएसले बाइडन र उहाँको परिवारको सुरक्षामा थप जनशक्ति पठाएको छ ।

 

Share Now

Leave a comment.