Prakash Adhikari November 8, 2020

काठमाडौं, २३ कार्तिक । नेपाल क्रिकेट एशोसिएसनको शनिवार सम्पन्न कार्य समितिको बैठकले गतअसोजमा गरेको राष्ट्रिय क्रिकेटरहरुको वर्गीकरणलाई सच्याएको छ ।

राष्ट्रिय टिममा रहेका चर्चित र राम्रो प्रदर्शन गरिरहेका खेलाडीहरु वर्गीकरणमा छुटेको र वर्गीकरण पनि न्यायोचित हिसाबले नभएको तथा राष्टिय टिममा परेकालाई वर्गीकरणमा स्थान दिइएकोमा क्यानको आलोचना भएको थियो । शनिवार भएको क्यानको भर्चुअल बैठकले नयाँ वर्गीकरणलाई पारित गरेको छ।

“खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड ‘बी’ बाट ‘ए’ मा, अविनाश बोहरालाई ग्रेड ‘सी’ बाट ‘बी’ मा, ललित नारायण राजबंशीलाई ग्रेड ‘बी’ र सन्दिप जोरालाई ग्रेड ‘सी’ मा पुन वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्वसम्मतले पारित गरेको छ ।

Sompal Kami - Sompal Kami Photos - T20 Triangular Tournament - MCC, Nepal,  And Netherlands - Zimbio

यस अघिको वर्गीकरणमा राष्ट्रिय टिमका चर्चित खेलाडी सोमपाल कामीलाई ग्रेड ‘बी’ मा तथा राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य देब्रे हाते स्पिनर ललित राजबंशीलाई वर्गीकरणमै नराख्ने गल्ति गरेको थियो ।

यस्तै क्यानले महिला क्रिकेटर तर्फको वर्गीकरण पनि परिवर्तन गरेको छ।

क्यानले महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई ग्रेड ‘बी’ मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’ मा राख्ने निर्णय गरेको छ । अघिल्लो वर्गीकरणमा राष्ट्रिय क्रिकेटर ममता चौधरी, सरस्वती चौधरी, शान्ति खतिवडालाई समेटिएको थिएन।

नयाँ वर्गीकरणमा पनि २०१९ देखि राष्ट्रिय टिममै नपरेका शोभा आले ,रितु कनोजिया र ज्योति पाण्डे तथा यस्तै राष्ट्रिय टिममा डेब्यु नै नगरेका अनुराधा चौधरी, कबिता जोशीलाई वर्गीकरणमा निरन्तरता दिईएको छ।

शनिवारको भर्चुअल बैठकले नेपालमा लकडाउन सुरुभएपछि रोकिएका क्रिकेट गतिविधिलाई पुन : सञ्चालन गर्ने तयारी स्वरुप मङ्सिर १० देखि राष्ट्रिय क्रिकेट टिमको अभ्यास सुरु गराउने निर्णय पनि गरेको छ ।

शनिवारको भर्चुअल बैठकबाट क्यान संघको वार्षिक साधारणसभा यो वर्ष मङ्सिर ३ मा गर्ने, भारतीय राजदूताबासको सहयोगमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पेभेलियन हलको स्तरोन्नति गर्ने, नेशनल क्रिकेट एकेडेमी सञ्चालन गर्नको लागि दुर्गाराज पाठकको संयोजकत्वमा कार्यविधि निर्माण गर्ने,राष्ट्रिय क्रिकेट टिमलाई फिटनेस ट्रेनरको व्यवस्था गर्ने,प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरको अन्तिममा आयोजना गर्न अनुमति लिने, मुलपानीस्थित क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति प्रक्रिया अघि बढाउने र तीन वर्षीय रणनैतिक योजना निर्माण गर्न प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलाश बिष्ट र छुम्बि लामा सदस्य रहेको समिति गठन गर्ने निर्णय पनि गरेको छ । यो समितिलाई दुइ हफ्ताभित्र रणनीतिक योजना निर्माण गर्ने जिम्मेवारी दिइएको छ ।

अनुबन्ध अवधि छ महिना घट्यो

क्यानले वर्गीकरणमा खेलाडीहरु थप्दा यस अघि १ वर्षको लागि गरेको सम्झौता अवधि भने घटाएर ६ महिनाको लागि मात्र गर्ने निर्णय गरेको छ। कोरोना महामारीले यस्तो हुन गएको क्यानको दावी छ ।

क्यानले पुरुषतर्फ २० जना तथा महिलातर्फ २२ खेलाडीलाई सम्झौतामा राखेको छ। पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ‘ए’ ग्रेडमा परेकाले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ मा परेकाले मासिक १० हजार पाउने छन्।

क्यानले सम्झौता गरेका खेलाडीहरु

पुरुषतर्फ

‘ए’ ग्रेड :  पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,
‘बी’ ग्रेड : सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनाश बोहरा,ललित राजवंशी
‘सी’ ग्रेड : सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सन्दीप जोहरा

nepal-beat-china-by-8-wickets

महिलातर्फ 
ए ग्रेड : रुबिना क्षेत्री, नेरी थापा, इन्दु बर्मा,सीता राना मगर, करुणा भण्डारी
‘बी’ ग्रेड : ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी
‘सी’ ग्रेड :  कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा, ममता चौधरी

Share Now

Leave a comment.