Prakash Adhikari November 17, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २ मंसिर(बीबीसी) । एउटा नयाँ खोपले कोभिड १९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ।

फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ।

दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ।

मोडेर्नाले यसलाई एउटा ‘ठूलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ।

यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन्।

कति प्रभावकारी छ ?
यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई परीक्षण खोप ९वास्तविक खोप होइन० लगाइएको थियो।

पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो।

ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए। बाँकी ९० जना ‘डम्मी खोप’ दिइएकाहरू थिए।

यो खोपले कोरोनाभाइरसबाट ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ।

‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ। यो ठूलो दिन हो’, मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले बीबीसी न्यूजलाई भन्नुभयो।

सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन। तर प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन।

खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ।

‘कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौँ ‘, इम्पेरीअल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भने।

भण्डारणमा सहज

मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ।

यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ।

फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो।

 

Share Now

Leave a comment.