काठमाडौं, १० श्रावण । देशभर डेङ्गीका बिरामीको संख्या बढ्दै गएको छ । अहिले यो संख्या ४ हजारबाट उकालो लागेको बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो।
उहाँका अनुसार अहिलेसम्म ४ हजार २ सय ८९ जनामा डेङ्गीबाट बिरामी भएका छन्।
महाशाखाका अनुसार असार ३० गते २ हजार ९ सय ३० जनामा डेङ्गुको सङ्क्रमण भएको थियो। कोशी प्रदेशमा २ हजार ७ सय ५४, बागमती प्रदेशमा ७ सय ७६, गण्डकी प्रदेशमा ३ सय ४४, सुदूरपश्चिम प्रदेशमा ३ सय १६, लुम्बिनी प्रदेशमा १ सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गीका बिरामी रहेका छन्।
डेङ्गी सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन्। ती १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन्। सुनसरी २ हजार ५ सय ४२, धादिङ ४ सय एक, कास्की २ सय ५, दार्चुला १ सय ९०, काठमाडौँ ८०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन्। चितवनमा पनि डेङ्गीका विरामीको संख्या उच्च रहेको बताइएको छ ।
डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ।
डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्ने चिकित्सकहरु बताउँछन्।
डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो। लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्किँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ ।
महाशाखाले डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।


















