ढाका(बंगलादेश), ३० कार्तिक । बंगलादेशमा भैरहेको एसीसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा नेपालले हंगकंगलाई ४० रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नेपालले २ सय १७ रन जोड्यो ।
१ सय १८ रनको लक्ष्य पछ्याएको हंगकंगले ५० ओभरको खेल ४५.५ ओभरमा सबै विकेट गुमाउदा पनि १ सय ७७ रन मात्र जोडेर नतिजा नेपाललाई सुम्पियो ।
नेपालको पनि सुरुआत राम्रो भएन । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पभेलियन फर्कन पर्यो । शरद भेषवाकरले उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै ८९ रन बनाए।उपकप्तान ऐरीले ३७, आरिफ शेखले ४२ तथा विनोद भण्डारीले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाई रोक्ने क्रममा हङकङका मोहम्मद ऐजाज खानले ३ तथा नर्सुल्ला राना र एशान नवाजले २।२ विकेट लिए। अफ्ताब हुसेन र रौनक कपुरले १।१ विकेट लिए।
१ सय १८रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको हङकङका लागि किन्चित शाहले ५३ तथा एशान नवाजले ४४ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
हङकङलाई अल आउट गर्न अविनाश र करणले ३।३ विकेट लिए भने सुसन भारीले एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा भारतसंग ७ विकेटले पराजित भएको नेपालले यो जितसंगै सेमीफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।


















