Prakash Adhikari May 16, 2018

कोराक(चितवन), २ जेठ( बीबीसीबाट) । चितवन जिल्लाको फरक फरक गाउँका दुई चेपाङ बालबालिकाले हालसालै भागेर विवाह गरे।

बालक १५ वर्ष, बालिका १४।

किन यति छिट्टै बिहे गरेको?

“हामी दुवैलाई एकअर्का मन पर्‍यो। मैले ‘हिँड्!’ भनेँ अनि उसलाई ल्याएँ,” ती बालकले जवाफ दिए।

बालिकाले त्यसमा टाउको हल्लाउँदै भनिन्, “उसले ‘मसँगै मेरो घर हिँड्, म पाल्छु भन्यो’। मैले कुट्छ होला भनेर सोधेँ। उसले कसम खाएर ‘कुट्दिनँ’ भन्यो अनि म भागेर आएँ।”

उनीहरूले विवाह यही महिनामा गरेका हुन्।

यी बालबालिकाका बुवाआमाले पनि वर्षौँअघि यसैगरी उनीहरूकै उमेरमा भागरे बिहे गरेका थिए।

त्यसैले छोराको निर्णय सहजै स्वीकारे।

नयाँ जटिलता
चेपाङ समुदायमा विद्यमान चलनअनुसार बुहारी भित्र्याउन उनको घरमा बुवाआमासँग कुरा गर्न जानुपर्छ। उनीहरू कोसेली लिएर गए।

चितवन जिल्लाका चेपाङ गाउँमा हुने बालविवाहको एउटा प्रतिनिधि घटना हो यो।

स्थानीय विद्यालयकी शिक्षिका विमला गुरुङका अनुसार यो भेगका अधिकांश चेपाङ गाउँमा विवाह यसैगरी हुने गर्छ।

“बिहे गर्नु हुन्छ कि हुन्न भन्ने सोच्न नसक्ने उमेरमै गाउँका धेरै बालबालिकाहरू हाँसखेलमै जोडी बाँध्छन्,” गुरुङले भनिन्।

“यहाँको विद्यालयहरूमा पाँच कक्षा माथि पढ्नका लागि कक्षा नभएकोले एउटै कक्षामा दोहोर्‍याएर पढेपछि उनीहरू विद्यालय जान छोड्छन्। अनि गाउँमै मेलापात र गोठाला गएका बेला उनीहरू सानैमा भागेर बिहे गर्छन्।”

‘भाग्ने लहर’

चितवनमा मात्रै होइन पछिल्लो समय बालबालिकाले यसैगरी भागेर विवाह गर्ने लहर ‘ बढेको छ, भन्छन् केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल।

“पहिला पहिला बालिकाहरूको मागीविवाह उमेर पुगेका पुरुषहरूसँग हुन्थ्यो। तर पछिल्ला चार पाँच वर्षमा बालक र बालिका आफैँ भागेर विवाह गर्ने चलन बढेको छ।”

केही वर्षयता इन्टर्नेट र सामाजिक सञ्जालको प्रयोग गाउँसम्म पुगेकाले गर्दा पनि बालबालिकाहरू आफूखुसी विवाह गर्ने गरेको धिताल बताउँछन्।

तर इन्टर्नेटको पहुँच नभएका चेपाङलगायत अन्य गाउँमा भने पहिला बाबुआमाकै सिको गरी विवाह हुने गरेको पाइएको उनले बताए।

बालविवाहको अवस्था

दक्षिण एशियामा बाङ्ग्लादेश र भारतपछि बालविवाह धेरै हुने देशमा नेपाल पर्छ।


बालविवाहको परम्परागत समस्या घट्नुको सट्टा त्यसमा थप जटिलताहरू बढ्दै गइरहेका बेला यस्ता मुद्दाहरूमा उजुरी भने नगण्य पर्ने गरेको धिताल बताउँछन्।

उनले भने, “गत वर्ष बालविवाहको उजुरी प्रहरीमा देशभरिबाट जम्मा २६ वटा मात्रै आएको देखिन्छ।”

राष्ट्रिय स्तरमा भने गत तीन वर्षयता बालविवाहको तथ्याङ्क कति छ भनि अध्ययन गरिएको छैन।

सन् २०१६ मा ह्युमन राइट्स वाचले सार्वजनिक भएको तथ्याङ्कअनुसार नेपालमा झन्डै ३७ प्रतिशत किशोरीहरूको विवाह १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ।

बालविवाह अन्त्यका लागि भनेर तीन वर्षअघि सरकारले राष्ट्रिय रणनीति ल्याइएको थियो जसले सन् २०३० सम्ममा बालविवाहलाई अन्त्य गर्ने उद्देश्य राखेको छ।

तर पछिल्लो समय इन्टर्नेट र सामाजिक सञ्जालको प्रयोगले कम उमेरमै बालविवाह गर्नेको समस्या बढिरहेकोले सरकारको यो उद्देश्य पूरा गर्न चुनौतीपूर्ण रहेको अधिकारकर्मीहरू बताउँछन्।

Share Now

Leave a comment.